प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिमको दोस्रो हार, बागमतीसंग ९७ रनले पराजित

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिमको दोस्रो हार, बागमतीसंग ९७ रनले पराजित

काठमाडौँ । बिहीबार खेलिएको खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ९७ रनको फराकिलो अन्तरले हराएको छ ।

जारी प्रतियोगितामा हालसम्म आठ खेल खेलेको बागमती प्रदेशको यो पाँचौँ जित हो । तीन खेलमा बागमती प्रदेश पराजित भएको छ । ६ खेल खेलेको सुदूरपश्चिम प्रदेशको भने यो दोस्रो हार हो । चार खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ ।

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ४७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिम प्रदेशले ३०.३ ओभरमा अलआउट हुनुअघि एक सय ५० रनमात्र बनाउन सक्यो ।

सुदूरपश्चिम प्रदेशका लागि नरेन भट्ट र किरण ठगुन्नाले ४१–४१ रनको योगदान गरे । नरेनले ४४ बलमा ६ चौका तथा किरणले केवल २७ बलमा तीन छक्का र चार चौका प्रहार गरेका थिए । ओपनर ब्याट्सम्यान खड्क बोहराले पनि २१ रन बनाए ।

सुदूरपश्चिम प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । सुदूरपश्चिम प्रदेशले अतिरिक्त रुपमा पनि १७ रन पाएको थियो । बागमती प्रदेशका बलर सूर्य तामाङ र विपिन आचार्यले तीन–तीन विकेट लिए । रिजन ढकाल, कृजन गुरुङ र सोनु देवकोटाले पनि एक–एक विकेट लिएका थिए ।

त्यसअघि बागमती प्रदेशका लागि ओपनर ब्याट्सम्यान आशुतोष घिरैयाले अर्धशतकीय पाली खेलेका थिए । उनले टोलीका लागि ५४ रनको योगदान गरे । उनले केवल ६२ बलको सामना गरी तीन छक्का र ६ चौका पनि हिर्काएका थिए ।

कप्तान रित गौतमले पनि टोलीका लागि ४४ रनको योगदान गरे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका रितले ६१ बलको सामना गरी नौवटा चौका पनि हिर्काए । पाँचौँ नम्बरका ब्याट्सम्यान अशोक पौडेलले पनि टोलीको खातामा ३१ रन थपे । उनले ४८ बलमा चार चौका हिर्काए ।

तल्लोक्रमका ब्याट्सम्यान सोनु देवकोटाले अविजित २८ रन बनाए । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल २० बलमा दुई छक्का र दुई चौका पनि हिर्काए । विकेटकिपर ब्याट्सम्यान रबिन जोशीले पनि ३८ बलमा दुई चौकाको मद्दतले २४ रन बटुले ।

प्रतिश जीसीले १७, विपिन आचार्यले १२ र सूर्य तामाङले नौ रन जोडे । ओपनर इशान पाण्डे भने दुई रनको ब्यक्तिगत स्कोरमै पेभेलियन फर्किएका थिए । रिजन ढकालले पनि टोलीको खातामा ६ रन थपे । कृजन गुरुङ चार रनमा अविजित रहे ।  

बागमती प्रदेशले अतिरिक्त रुपमा पनि १६ रन पाएको थियो । सुदूरपश्चिम प्रदेशका बलर शेर मल्ल र नारायण जोशीले तीन–तीन विकेट लिए । विकाश अग्रीले पनि दुई विकेट हात पारे । मिलन बोहराले पनि एक विकेट लिए ।