मुख्यमन्त्री राष्ट्रिय भलिवल प्रतियोगिताको तयारी अन्तिम चरणमा

मुख्यमन्त्री राष्ट्रिय भलिवल प्रतियोगिताको तयारी अन्तिम चरणमा

महेन्द्रनगर । माघ १४ गतेदेखी कञ्चनपुरको महेन्द्रनगर स्थित खुला मञ्चमा हुने तेस्रो मुख्यमन्त्री राष्ट्रिय भलिवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको आयोजनामा माघ १४ गतेदेखी २० गतेसम्म सञ्चालन हुने छ । 

प्रतियोगिता सञ्चालनका लागि अहिले मञ्च व्यवस्थापनदेखी अन्य प्राविधिककुराहरुको तयारी तिब्र पारिएको छ । खुलामञ्चमा नेपाली सेनाको श्री नं. २५ बाहिनि अड्डा र श्रीदल गुल्म भगतपुर ब्यारेकको टोली रंगरोगन, प्याराफिट निमार्ण देखी मञ्च व्यवस्थापनको काममा खटिएको छ । जिल्ला भलिबल संघ कञ्चनपुरले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारि दिएको छ । 

भलिबल संघ कञ्चनपुरका अध्यक्ष श्याम सिंह मौनीले प्रतियोगिताको ९० प्रतिशत काम सम्पन्न भइसकेको बताए । ‘प्रतियोगितामा सहभागी हुने खेलाडीहरु समेत कञ्चनपुर पुग्ने क्रम सुरु भएको छ’ उनले भने–‘मञ्च व्यवस्थापन, रंगरोगन र प्याराफिट निमार्णको काम अन्तिम चरणमा छ ।’
 
प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागिय टिम गरि १० वटा टीमको सहभागिता हुने छ । प्रतियोगितामा एक सय ५० जना खेलाडी, प्रशिक्षक र व्यवस्थापक रहनेछन । त्यसैगरी प्रतियोगितामा एक जना अन्तराष्ट्रिय, १२ जना राष्ट्रिय र १२ जना प्रदेशका रेफ्रीहरुको सहभागिता रहने छ । प्रतियोगितामा विजेता उपविजेता र तेस्रो हुने टिमलाई रु चार लाख,दुई लाख र एक लाख नगद सहित विजेता ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
  
प्रतियोगिताको सेमिफाइनल देखिका चार वटा खेलमा रु पाँच हजारका दरले म्यान अफ द म्याचको पुरस्कारको व्यवस्था मिलाइएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु २० हजार पुरस्कार प्रदान गरिने छ  । उक्त प्रतियोगितामा विभिन्न छ वटा विधामा जनही रु दश/दश हजारका दरले पुरस्कार प्रदान गरिने छ । प्रत्येक दिन प्रतियोगिताका चार खेल हुने भलिबल संघ कञ्चनपुरले जनाएको छ ।