सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भोलि माघ ११ गते निर्वाचन हुँदै

सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भोलि माघ ११ गते निर्वाचन हुँदै

सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भोलि माघ ११ गते निर्वाचन हुँदैछ । राष्ट्रिय सभा सदस्य हरिराम चौधरी, इन्दु कडरिया र महेशकुमार महराको पदावधि आगामी फागुन २० मा सकिन लागेकाले रिक्त हुने पद्का लागि निर्वाचन गर्न लागिएको हो । निर्वाचनमा सत्ता गठबन्धन दलका उम्मेदवार र नेकपा (एमाले) का उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् ।

 सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट नारायणदत्त भट्ट (कैलाली), बलदेव बोहरा (कञ्चनपुर) र नेकपा (माओवादी केन्द्र) का रेणु चन्द (बैतडी) उम्मेदवार हुनुहुन्छ । नेपाली कांग्रेसका भट्ट अपाङ्ग, बोहरा अन्यबाट र माओवादीकी चन्द महिलाबाट उम्मेदवार बन्नु भएको हो । यसैगरी, नेकपा (एमाले) बाट अपाङ्गतर्फबाट कैलालीका रामचन्द्र जोशी, महिलामा कैलालीकै सावित्री घिमिरे र अन्यबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल चुनावी मैदानमा उत्रिनु भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षले मत हाल्न पाउने व्यवस्था रहेको छ । मतदान सुदूरपश्चिम प्रदेश सभामा हुनेछ । मतदान स्थलमा तयारी पूरा गरिएको छ । भोलि माघ ११ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुने प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले जानकारी दिनुभयो । राष्ट्रिय सभा सदस्य निर्वाचनमा ५२ जना प्रदेश सभा सदस्य र १७६ जना स्थानीय तहका प्रमुख उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष गरी जम्मा २२८ जना मतदाता रहेका छन् ।