एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री

एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री

काठमाडौँ । स्याङ्जाको भिरकोट नगरपालिका– ७ मा यस वर्ष ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे, लोलुङ्गा, पाङसाङ, धोबादी, कोलडाँडा, पासिन्डाँडा, चिउरीखर्कलगायतका गाउँबाट सुन्तला उत्पादनका लागि परिचित छ ।

भिरकोट– ७ का वडाध्यक्ष एवं सुन्तला सुपरजोन स्याङ्जाका सञ्चालक समिति अध्यक्ष ताराप्रसाद अर्यालले आफ्नो वडामा यसवर्ष सुन्तला बिक्रीबाट ११ करोड भन्दा बढी रकम भित्रिएको बताए । करिब एक सय घरपरिवारले व्यावसायिकरूपमा सुन्तला उत्पादन गर्दै आइरहेको उनको भनाइ छ ।

तिहारका बेलादेखि सुन्तला बजार पठाउन सुरु गरेर माघको दोस्रो सातासम्म सबै बिक्री गरिसक्ने अध्यक्ष अर्यालले जानकारी दिए । सुरुमा प्रतिकेजी ४० रुपैयाँमा बिक्री गरेको सुन्तला अन्तिममा आइपुग्दा प्रतिकेजी ७० रुपैयाँका दरले बिक्री भएको छ ।

स्थानीय व्यापारी तथा काठमाडौँबाट आएका व्यापारीले बगैँचा नै ठेक्का लिएर बिक्री गर्ने गरेका छन् । कतिपय किसानले चिनजान र फोन सम्पर्कका आधारमा गाडीबाट व्यापारीकहाँ पठाइदिने गरेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन र भिरकोट नगरपालिकाको ७५ प्रतिशत अनुदानमा बिरुवा, सिँचाइ ट्याङ्की, पाइप वितरण गरिएको अध्यक्ष अर्यालले बताए । नयाँ बिरुवा हुर्कँदै गरेकाले आगामी वर्ष थप ५–६ करोड बढीको सुन्तला बिक्रीबाट आम्दानी भित्रिने उनको दाबी छ ।