अनि किन भारतबाट चामल आयात नहोस्, द्वन्द्वले तहसनहस बनायो नेपाली चामल उद्योग

अनि किन भारतबाट चामल आयात नहोस्, द्वन्द्वले तहसनहस बनायो नेपाली चामल उद्योग

लम्की : दुई दशकअघि भारतलगायतका देशमा चामल निर्यात गर्ने कैलालीका ठूला चामल उद्योगहरु खण्डहर बनेका छन्। अन्नभण्डारका रूपमा चिनिने दर्जन बढी ठूला चामल उद्योग सशस्त्र द्वन्द्वपछि खुल्न सकेका छैनन्। 
    
टीकापुर र नारायणपुरका उद्योगबाट उत्पादित चामल भारतको तिकुनियाँमा भण्डारण गरिन्थ्यो। तिकुनियाँबाट भैरहवा नाका हुँदै नेपाल भित्रिन्थ्यो र खपत हुन नसकेको चामल व्यवसायीले भारतमा बिक्री गर्थे। 

चामल उत्पादनका लागि ख्याति कमाएको टीकापुर क्षेत्रमा तत्कालीन अवस्थामा जिल्लाका प्रायः किसानले धान बिक्रीका लागि रोज्थे। जिल्लाभरको धान खरीद गर्न पाएपछि चामल उद्योग निकै राम्रो अवस्थामा चलेका थिए।     
     
देशभर नाम चलेका यस क्षेत्रका सबै चामल उद्योग यतिबेला भने बन्द छन्। सशस्त्र द्वन्द्व, कृषकले धान कम लगाउनु र धान खरीद गर्ने गल्ला विभिन्न ठाउँमा सञ्चालन हुनुलगायतले सबै चामल उद्योग बन्द हुन पुगेको व्यवसायी बताउँछन्। दर्जनभन्दा बढी ठूला चामल उद्योग भए पनि हाल एउटा मात्रै उद्योग सञ्चालनमा छ। टीकापुर नगरपालिका–६ स्थित मौरनियाँ चामल उद्योग मात्रै सञ्चालनमा छ।     
     
झण्डै ३५ वर्षअघि स्थापना गरिएको मौरनियाँ चामल उद्योगका सञ्चालक नारायण गोयलले द्वन्द्व शुरु भएसँगै व्यवसायी विस्थापित भएको बताउँछन्। “देशमा द्वन्द्व शुरु भएसँगै व्यवसायी विस्थापित भए, फेरि उद्योग सञ्चालनको वातावरण बन्न सकेन”, सञ्चालक गोयलले भने, “त्यसपछि उद्योगी फर्केनन्।” उद्योगी गोयलका अनुसार व्यवसायीको अनुपस्थितिमा ठूलो लगानी भएका सबैजसो उद्योग खण्डहर बन्न पुगेका हुन्।     
     
टीकापुर नगरपालिका–६ नारायणपुरका मख्खन बाबु भनिने वीरबहादुर राईको दुर्गा राइस मिल, गोविन्द श्रेष्ठको ओखरपुर राइस मिल, शान्तिकुमार अग्रवालको शक्ति राइस मिल र टीकापुर अस्नेरीस्थित कर्णाली राइस मिल देशभरमै चिनिने ठूला चामल उद्योग हुन्। प्रतिघण्टा २० क्विन्टलसम्म चामल उत्पादनको क्षमता राख्ने यस्ता उद्योग खोलाउन पहल पनि भएको छैन।

Sipradee

दुर्गा राइस मिल विसं २०४६ मै बन्द भइसकेको थियो। अन्य मिल सशस्त्र द्वन्द्वका समयमा बन्द भए। विसं २०५३ को आसपासमा शक्ति र ओखरपुर राइस मिल बन्द भए। त्यसै अवधिमा कर्णाली राइस मिल पनि बन्द हुन पुग्यो। उद्योग बन्द भएसँगै सबै व्यवसायी विस्थापित भए। उद्योगस्थलमा तत्कालीन माओवादीले कब्जा गरे। त्यहाँ रहेका मेसिन र औजार बिक्री गरियो।     
     
“मिलका सबै सामान कवाडीको भाउमा बेचे, जमीन कब्जा गरेर खेतीपाती गरे”, स्थानीय कमानबहादुर हमालले भने, “माओवादीले कब्जा नगरेको भए व्यवसायी फर्किने थिए होलान्।” चामल उद्योग सञ्चालन हुँदा यहाँको व्यापार व्यवसाय निकै फस्टाएको थियो। टीकापुर नगरपालिका–७ को सत्तीबजार खाद्यान्नको मण्डीका रूपमा चिनिन्थ्यो।     
     
धान खरीद गर्न खाद्य संस्थानले सरकारी काँटा लगाउँथ्यो। धान बेच्ने र चामल किन्नेको चहलपहल हुन्थ्यो। अन्य सामान किनमेलका लागि समेत धेरैले सत्तीबजार रोज्थे। चामल उद्योगलाई लक्षित गरेर सत्तीमा राष्ट्रिय वाणिज्य बैंक सञ्चालनमा आएको थियो। सयौँले रोजगारी पाउनुका साथै कृषकको धान सहज र राम्रो मूल्यमा बिक्री हुने गरेको स्थानीय लालबहादुर चौधरीले बताउँछन्। 

“सशस्त्र द्वन्द्व बढेसँगै यस क्षेत्रको भविष्य नै तहसनहस भयो”, चौधरी भन्छन्, “सशस्त्र द्वन्द्व मात्रै नभए यो अवस्था हुँदैन थियो। जसको प्रभाव अझै पनि हामी खेपिरहेका छौँ।”     
     
कतिपय स्थानीयवासी भने चामल उद्योग बन्द हुनुको कारण सशस्त्र द्वन्द्व मात्रै नभएको बताउँछन्। उनीहरु कर्णाली चिसापानीमा पुल बनेपछि नारायणपुर–सत्ती यातायात सुविधाबाट टाढा हुन पुगेको बताउँछन्। पुल बनेसँगै व्यापारिक केन्द्र पूर्वपश्चिम राजमार्गमा केन्द्रित भएपछि धान खरीद बिक्रीमा कमी आएसँगै चामल उद्योग बन्द हुन पुगेको नारायणपुरका पहल बस्नेतको भनाइ छ।     
     
“धान खरीद गर्न नपाएपछि चामल उद्योगको अर्थ नै भएन”, बस्नेतले भने, “धान नभएका कारण पनि चामल उद्योग बन्द भएका हुन्।” टीकापुरको पहाडी जिल्लासँग सोझै यातायात सम्बन्ध नहुनु पनि यी चामल उद्योगका लागि दुर्भाग्य भएको स्थानीयवासी बताउँछन्। सबैभन्दा बढी खाद्यान्नको माग पहाडी जिल्लामा हुन्छ। ती जिल्लामा अन्यत्रबाट खाद्यान्न ढुवानी हुन थाल्यो। यहाँ उत्पादन भएको चामल पहाडी जिल्लासम्म ढुवानी गर्न महङ्गो हुन थालेपछि माग हुन छोडेको मौरानियाँ राइस मिलका सञ्चालक गोयल बताउँछन्।     
     
“हामीसँग पहाड जोड्ने सिधा बाटो भएन”, गोयलले भने, “कि त अत्तरिया हुँदै जानुपर्यो, नत्र कोहलपुर हुँदै ढुवानी गर्नुपर्छ।” करोडौँ मूल्यका चामल उद्योग खण्डहर बनेपछि व्यवसायीसमेत आर्थिकरूपमा चुर्लुम्म डुबेका छन्। उनीहरुलाई वित्तीय संस्थाले लगानी गर्न छाडेका छन्। व्यवसायीले आफ्नै प्रयासले चामल उद्योग पुनःसञ्चालन गर्नसक्ने अवस्था पनि छैन। 

नेपाली उद्योगहरु बन्द हुँदै गएपछि अहिले भारतबाट बार्षिक ३० अर्ब रुपैयाँ हाराहारीको चामल आयात हुने गरेको छ।