प्रधानमन्त्री कप क्रिकेट : कोशी प्रदेशको लगातार छैटौँ हार

प्रधानमन्त्री कप क्रिकेट : कोशी प्रदेशको लगातार छैटौँ हार

 प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लगातार छैटौँ हार बेहोरेको छ । आज भएको खेलमा गण्डकी प्रदेशले कोशीलाई १ सय ४२ रनको फराकिलो अन्तरले हरायो । गण्डकीले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको कोशी १५ ओभर २ बलमा २५ रनमै अल आउट भयो । कोशीका कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कोशीका कप्तान अङ्कित सुवेदीले सर्वाधिक ८ रन बनाए ।

 गण्डकीका कप्तान विपिन खत्रीले ६ र सन्दीप पराजुलीले ३ विकेट लिए । यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकी ४८ ओभर २ बलमा १ सय ६७ रनमा अल आउट भयो । गण्डकीका मुस्कान थापाले ६७ र कप्तान खत्रीले ४२ रन बनाए । कोशीका अभ्यास तिम्शिनाले ६ विकेट लिए । प्रतियोगितामा गण्डकीको यो पहिलो जित हो । गण्डकीले ४ खेलमा २ अङ्क जोडेको छ ।