दार्चुलामा प्रहरीमाथि चक्कु प्रहार

दार्चुलामा प्रहरीमाथि चक्कु प्रहार

दार्चुला, दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर १ दहमा एक युवकले प्रहरीमाथि चक्कु प्रहार गरेका छन् । दहका २५ वर्षीय उमेश कुँवरले आइतबार १२ बजेतिर डिउटीमा खटिएका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।

 जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डीएसपी शिवबहादुर सिंहका अनुसार युवकलाई पक्राउ गर्न गएका प्रहरीमाथि नै चक्कु प्रहार भएको हो । उहाले युवकले प्रहरीलाई चक्कु प्रहार नगरेको र उहाकी पत्निलाई प्रहार गरेको चक्कुले प्रहरीलाई लागेको बताउनु भयो । चक्कु प्रहारबाट प्रहरी जवान ठगुन्नाको आँखा नजिक गहिरो र गर्धनमा चोट लागेको छ । हवल्दार खड्कालाई सामान्य चोट लागेको बुझिएको छ । उहाहरुको जिल्ला अस्पतालमा उपचारपछि कार्यालयमा फर्किएको डीएसपी सिंहले बताउनु भयो ।

 उमेशले श्रीमती धनिशालाई कुटपिट गर्ने गरेको भन्दै धनिशाकी दिदीले प्रहरीमा निवेदन दिनु भएको थियो । प्रहरीमा निवेदन आएपछि उमेशलाई नियन्त्रणका लागि सामुदायिक प्रहरी बाङ्गाबगरबाट गएको प्रहरी टोलीमाथि आक्रमण भएको दार्चुलाका प्रहरी प्रमुख सिंहले बताउनु भयो । चक्कु प्रहार गरेर कुँवर फरार भएका छन् । कुवरको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ ।