गृहमन्त्रीको आदेशपछि सीआईबीले खोल्यो जीबी–रवि सहकारी प्रकरणको फाइल

गृहमन्त्रीको आदेशपछि सीआईबीले खोल्यो जीबी–रवि सहकारी प्रकरणको फाइल

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जीबी–रवि (गितेन्द्रबाबु राई र रवि लामिछाने) जोडिएको भनिएको सहकारी घोटाला प्रकरणको अनुसन्धान सुरु गरेको छ।

ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक समेत रहेका जीबी र उपप्रधान तथा गृहमन्त्री समेत भइसकेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा प्रतिनिधि सभाका सदस्य रवि जोडिएको सहकारीको फाइलमाथि सीआईबीले अनुसन्धान अघि बढाएको हो। 

रविविरुद्धको अनुसन्धान अघि बढ्ने संकेत करिब १ महिना अघि नै गृहमन्त्री श्रेष्ठले दिएका थिए। बालकुमारीमा प्रहरीको गोली लागेर २ जनाको ज्यान गएपछि जवाफ दिन भन्दै पुस १६ गते प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री र सुरक्षा निकायका प्रमुखहरूलाई डाकिएको थियो। 

राज्य व्यवस्था समितिका सदस्य समेत रहेका रविले गृहमन्त्री श्रेष्ठको नियतमाथि नै प्रश्न उठाएका थिए। बालकुमारी घटनादेखि नक्कली भुटानी शरणार्थी प्रकरण, शरणार्थी प्रकरण अनुसन्धान गर्ने प्रहरीमाथि भएको सरुवा, सुन तस्करी प्रकरणमा गृहमन्त्रीको इमान नदेखिएको भन्दै रविले चर्को आलोचना गरेका थिए। त्यतिबेला रविले गृहमन्त्रीलाई भनेका थिए, ‘बरु समुन्द्रमा हराएको टाइटनिक भेटिएला, तर तपाईंमा नैतिकता भेटिन्न।’

गृहमन्त्री श्रेष्ठले रविलाई जवाफ दिँदा उनी बाहिरिसकेका थिए। गृहमन्त्रीले श्रेष्ठले रविलाई भनेका थिए, ‘मलाइ केही पर्छ कि क्या हो। त्यही भएर भन्दिहालौं जस्तो पो लाग्छ कि मान्छेहरुलाई। अथवा आफूले पहिले गरेको गल्तीमा कुनै कारणले कानूनी छुट पाए भन्दैमा पछाडि पनि त्यस्तै हुन्छ भनेर आरोप लगाउन भएन। दोष छ भने कारबाही गर्न सकिन्छ। प्रतिशोध साध्न सकिन्न।’

गृहमन्त्री श्रेष्ठले ‘केही गर्ला कि’ भनेर रविले पहिले नै ‘खुट्टा उचालेको’ समेत टिप्पणी गरेका थिए। ‘केही गर्ला कि भनेर पहिल्यै खुट्टा उचालेपछि भाग्न पाइन्छ कि भन्ने हुन्न। खुट्टा उचाले पनि समाइन्छ। त्यसो गरेर त हुन्न नि’ गृहमन्त्री श्रेष्ठले भनेका थिए। गृहमन्त्रीले श्रेष्ठले चेतावनीसहित ‘खुट्टा उचाले पनि समाइन्छ’ भनेको १५ दिनपछि नै सीआईबी प्रमुखलाई बोलाएर जीबी–रवि जोडिएको सहकारी प्रकरणको अनुसन्धान गर्न निर्देशन दिएका थिए। 

गृहमन्त्रीको निर्देशनपछि अहिले सीआईबीले जीबी–रवि जोडिएको सहकारी घोटालाको अनुसन्धान अघि बढाएको छ।

रवि–गृहमन्त्रीको नोकझोकको १० दिनपछि पुस २५ गते गृहमन्त्रीको नेतृत्वमा गृहसचिव, भूमी व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव, सीआईबीका एआईजी, एसएसपी, सहकारी विभागका रजिष्ट्रार, गृह र अर्थ मन्त्रालयका सहसचिवलगायतको बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको थियो। उक्त बैठकमा पनि सहकारीका समस्या हल गर्नेबारे छलफल भएको थियो। 

बैठकपछि गृहमन्त्री श्रेष्ठले सीआईबीका निर्देशक तथा एआईजी किरण बज्राचार्य, एसएसपी दिनेश आचार्यलाई जीबी–रवि जोडिएको सहकारी घोटालाबारे अनुसन्धान गर्न निर्देशन दिएका थिए। 

गृहमन्त्री श्रेष्ठको निर्देशनपछि सीआईबीले अहिले जीबी–रवि जोडिएको भनिएको सहकारीको फाइलमाथि अनुसन्धान अघि बढाएको छ। गृहमन्त्रीको निर्देशन अघिसम्म जीबी–रवि जोडिएको भनिएको सहकारी घोटालाको अनुसन्धान सीआईबीले गरेको थिएन। सम्बन्धित जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरेर कारबाही प्रक्रिया समेत अघि बढाएका थिए। 

तर गृहमन्त्री श्रेष्ठको निर्देशनपछि अहिले जीबी–रवि जोडिएको सहकारी घोटालाका फाइल सीआईबीले तानेर अनुसन्धान गरेको छ। उच्च प्रहरी स्रोतले भन्यो, ‘जीबी–रवि जोडिएका सहकारीका फाइल अहिले जिल्लाबाट तानेर सीआईबीले अनुसन्धान अघि बढाएको छ। अहिले फाइल अध्ययनकै क्रममा छन्।’

सीआईबी स्रोतले समेत अनुसन्धान अघि बढाएको जानकारी दियो। सीआईबी स्रोतले भन्यो, ‘जीबी–रवि जोडिएको भनिएका सहकारी घोटाला प्रकरण धेरै ठाउँहरुमा भएको भन्ने पाइएपछि एकत्रित गरेर केन्द्रबाटै अनुसन्धान गर्ने निर्देशनअनुसार प्रक्रिया अघि बढाइएको छ।’

तर औपचारिक रुपमा भने सीआईबीले यो अनुसन्धानबारे केही बोलेको छैन। यसबारे सीआईबीका प्रवक्ता तथा एसपी नवराज अधिकारीले भने, ‘यो त सम्बन्धित जिल्लाबाटै अनुसन्धान भएको हुनुपर्छ। यसबारेमा मलाई जानकारी भएन।’

गृहमन्त्री श्रेष्ठको निर्देशनपछि सीआईबीले जीबी–रवि जोडिएको भनिएको पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको फाइल, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको फाइल, चितवनको साहारा सहकारीको फाइल जिल्ला प्रहरी कार्यालयबाट केन्द्रमा झिकाएको छ। 

जिल्ला प्रहरी कार्यालयबाट सीआईबीले लगेका ती फाइलहरु अहिले अध्ययनकै क्रममा छन्। फाइल अध्ययनपछि के–कसरी मुद्दा चलाउन सकिने अवस्था रहछ, क–कसको संलग्नता खुल्छ सोहीअनुसार कारबाही प्रक्रिया अघि बढाइने सीआईबीले जनाएको छ।

अहिलेसम्म पोखराको सूर्यदर्शन सहकारीबाट १० करोड रुपैयाँभन्दा बढी, चितवनको साहाराबाट ११ करोड रुपैयाँभन्दा बढी, बुटवलको सुप्रिम सहकारीबाट १० करोडभन्दा बढी गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा गएको देखिएको छ। गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत् नै ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालनमा आएको थियो। त्यसका अध्यक्ष जीबी राई थिए भने ग्यालेक्सी टिभीका प्रबन्ध निर्देशक रवि थिए। पछि राजीनामा दिएर रवि राजनीतिमा लागेका थिए।

यता रवि लामिछानेको तर्फबाट बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीबाट गोर्खा मिडियाको नाममा १ करोड रुपैयाँ जम्मा भएको डिपोजिट स्लिप समेत यसअघि नै सार्वजनिक भएको थियो। पोखराको सूर्यदर्शन सहकारीबाट पनि रविका नाममा छुट्टै १ करोड निकालिएको पाइएको थियो। तर रविले आफ्नो नाम कीर्ते गरेर रकम निकालिएको हुनसक्ने भन्दै आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आएका छन्।