आईसीसी यू–१९ विश्वकप २०२४ : नेपालले आइतबार न्यूजिल्याण्डसँग खेल्दै

आईसीसी यू–१९ विश्वकप २०२४ : नेपालले आइतबार न्यूजिल्याण्डसँग खेल्दै

 नेपालले दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ मा आफ्नो पहिलो खेल आइतबार न्यूजिल्याण्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार आइतबार दिउँसो १ ः ४५ मा सुरु हुनेछ । नेपालले न्युजिल्यान्डसँग पछिल्लो पटक २०१६ मा यू–१९ विश्वकप खेलेको थियो । नेपालले यू–१९ विश्वकपमा न्यूजिल्याण्डसँग खेलेका दुबै खेल जितेर विश्व क्रिकेटमा सनसनी मच्चाइसकेको छ ।

 नेपालले न्यूजिल्याण्डलाई सन् २०१६ को यू–१९ विश्वकपमा ३२ रन र २००६ मा १ विकेटले हराएको थियो । सन् २००६ को प्लेट फाइनलमा नेपालले न्यूजिल्याण्डलाई हराएर उपाधि जितेको थियो । श्रीलंकाको कोलम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्याण्ड २०४ रनमा अल आउट भएको थियो । त्यतिबेला नेपालका स्पिनर वसन्त रेग्मीले ३, शरद भेषावकर र अमृत भट्टराईले २–२ विकेट लिएका थिए । पारस खड्का र राज श्रेष्ठको नाममा १–१ विकेट रहेको थियो ।  उक्त लक्ष्य नेपालले ४९.४ ओभरमा ९ विकेट गुमाएर भेट्टाएको थियो । नेपालका वसन्त रेग्मीले ७३ बलमा ७ चौकासहित ६६ रन बनाउँदै जित दिलाएका थिए । शरद १८, ज्ञानेन्द्र मल्ल ५ र पारस खड्का ४ रनमा आउट भएका थिए । न्यूजिल्याण्ड टिमका सफल तीव्र गतिका बलर टिम साउथीले त्यो खेलमा विकेट लिन सकेका थिएनन् ।
 यस्तै नेपालले २०१६ मा बंगलादेशमा भएको यू–१९ विश्वकपमा समूह चरणमा न्यूजिल्याण्डलाई ३२ रनले हराएको थियो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २३८ रन बनाएको थियो । नेपालका सन्दीप सुनार ३९, सुनिल धमला १५, राजु रिजाल ४८, आरिफ शेख ३९, दीपेन्द्रसिंह ऐरी १६ र कुशल भुर्तेलले ३५ रन बनाएका थिए । न्यूजिल्याण्ड भने ४७.१ ओभरमा २०६ रनमै अलआउट भएको थियो । न्यूजिल्याण्डका रचिन रवीन्द्र ४, ग्लेन फिलिप्स ५२ र फिन एलेन ११ रनमा आउट भएका थिए । यी तीन खेलाडी वर्तमान समयका विश्व क्रिकेटकै सुपर स्टारमा पर्छन् ।