रुसलाई नेपालको आग्रह– नेपाली नागरिकलाई सेनामा भर्ती नलिइयोस्

रुसलाई नेपालको आग्रह– नेपाली नागरिकलाई सेनामा भर्ती नलिइयोस्

काठमाडौं । नेपालले आफ्नो देशका नागरिकहरुलाई सेनामा भर्न नलिन रुससँग आग्रह गरेको छ। 

परराष्ट्रमन्त्री एनपी साउदले रुसका विदेशमन्त्री सर्गेइ वर्सिनिनसँग नेपालीहरुलाई रुसी सेनामा भर्ना नलिन आग्रह गरेका हुन्। 

मन्त्री साउदले रुसी सेनामा भर्ना भएका नेपालीहरुलाई सुरक्षित रुपमा घर फिर्तीको वातावरण मिलाइदिन पनि समकक्षी वर्सिनसँग आग्रह गरेका छन्। 

युगाण्डाको राजधानी कम्पालमा जारी असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा भाग लिन आएका रुसी विदेशमन्त्री वर्सिनिनसँग परराष्ट्रमन्त्री साउदले भेटवार्ता गरेका थिए। भेटेका क्रममा नेपाली नागरिकहरु रुसी सेनामा भर्ना भएको विषयमा कुराकानी भएको थियो। 

‘हामीले रुसी पक्षलाई केही मुलुकसँग परम्परागत व्यवस्थाबाहेक विदेशी सेनामा नागरिक पठाउने नेपालको नीति नरहेको बतायौँ,’ मन्त्री साउदले भने, ‘त्यस कारण रुसलाई हामीले नेपाली नागरिक भर्ना नगर्न आग्रह गरेका छौँ।’

परराष्ट्रमन्त्री साउदले युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएका नेपालीको शव स्वदेश फिर्ता गरिदिन र उनीहरुको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइदिन पनि आग्रह गरे। 

‘रुसमा मृत्यु भएका व्यक्तिका परिवार धेरै पीडामा छन्। आफन्तको शव प्राप्त गरी आफनो संस्कृतिअनुसार अन्त्येष्टि गर्ने परिवारको चाहनालाई सम्मान गर्नु हाम्रो मानवीय दायित्व हो। त्यसकारण नेपाली नागरिकका शवलाई चाँडै स्वदेश फिर्ता गर्न हार्दिक अनुरोध गर्दछौं,’ मन्त्री साउदले रुसी उपविदेशमन्त्रीसँग भने। 

रुसी पक्षले मृतकका परिवारलाई रुसी कानुनअनुसार क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिएको मन्त्री साउदको सचिवालयले जानकारी दिएको छ। यसका लागि प्रक्रिया छिटो अघि बढाउन अनुरोध गरिएको मन्त्री साउदको सचिवालयले उल्लेख गरेको छ। 

जवाफमा रुसी उपविदेशमन्त्रीले परराष्ट्रमन्त्री साउदले उठाएका विषयहरू सम्बोधनका लागि पहल गरिने बताएका थिए। रुसी प्रतिनिधिमण्डलका प्रमुखसमेत रहेका उपविदेशमन्त्रीसँगको भेटमा दुई पक्षबीच नेपाल–रुस सम्बन्धका विविध विषयमा छलफल भएको थियो।

रुसी विदेशमन्त्री वर्सिनिनले नेपाल र रुस सम्बन्धको लामो इतिहाससमेत उल्लेख गरेका थिए। ‘हाम्रो सम्बन्धको जग बलियो छ,’ रुसी उपविदेशमन्त्रीको भनाइ थियो, ‘हामीले यी सम्बन्धलाई अगाडि बढाउनु पर्छ।’