धनगढीः न कार्यपालिका बैठक, न नगर सभा

धनगढीः न कार्यपालिका बैठक, न नगर सभा

धनगढी । ‘जग्गा सम्बन्धी बनेको कार्यविधि नमाने नगर सभा र कार्यपालिका बैठक बसाउँदैन’ धनगढी नगर प्रमुख गोपाल हमालको भनाई हो । सोही अनुसार धनगढीको नगर सभा अहिलेसम्म सुरु हुन सकेको छैन् । 

स्थानीय सरकार सञ्चालन ऐन अनुसार छ महिनाभित्र नगर सभा सञ्चालन गर्नुपर्ने हुन्छ । सो ऐनमा भनिएको छ –‘प्रदेश सरकारले तोकेबमोजिमको अवधिमा नगर तथा गाउँ सभा सञ्चालन हुनुपर्छ ।’ प्रदेश सरकारको कानुन अनुसार छ महिनाको अवधिमा प्रदेश, नगर तथा गाउँ सभा सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ । तर, नगर प्रमुख गोपाल हमालले कार्यविधिविरुद्ध परेको रिट र जनप्रतिनिधिको विरोधका कारण नगर सभा र कार्यपालिका बैठक बसाउन मानेका छैनन् ।

१९ औं कार्यपालिका बैठकबाट जारी सो कार्यविधि नमाने नगर प्रमुख हमालले नगर सभा र कार्यपालिका बैठक नबसाउने दिएको धम्की अहिले प्रस्ट देखिएको छ । हरेक महिनामा एक दिन कार्यपालिका बैठक अनिवार्य बसाउनुपर्ने र महिनामा आवश्यकता अनुसार नगर प्रमुखले कार्यपालिका बैठक बसाउनुपर्ने व्यवस्था छ । तर, पुसमा नगर प्रमुख हमालले नगर सभा सञ्चालनका लागि न त कार्यपालिका बैठक बसाए न त नगर सभा सञ्चालनमा ध्यान दिए । 

धनगढी वडा नम्बर ४ का वडा अध्यक्ष बुद्धि खडकाले भने –‘नगर प्रमुखले नगर सभा र कार्यपालिका बैठक बसाउन मानेका छैनन् । के हामी जनप्रतिनिधि होइनौं । एकलौटी कुनै पनि जनप्रतिनिधिले गर्न पाउँदैनन् ।’ 

उनका अनुसार सामाजिक सञ्जालबाट नगर प्रमुखले जनप्रतिनिधिलाई धम्काउने काम भइरहेको छ । उनले भने –‘राम्रा काममा हामीले नगर प्रमुखलाई साथ र सहयोग गर्दै आइरहेका छौं । तर, त्यो कार्यविधि अस्पष्ट र धनगढीका नागरिकको हितमा नभएपछि सच्याउन सुझाव दिए । त्यसैलाई देखाएर कार्यपालिका बैठक र नगर सभा नबोलाउनु अनुपयूक्त हो ।’

धनगढीले कार्यपालिका बैठक र नगर सभा सुरु नगरेपछि धनगढीमा हुने हरेक कार्यक्रम अहिले जननिर्वाचित जनप्रतिनिधिले बहिष्कार गर्दै आएका छन् । धनगढीले बिहिबार भव्य रुपमा सञ्चालन गरेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा जनप्रतिनिधिले बहिष्कार गरे । तर, उपप्रमुख कन्दकला रानाको साथ अहिले नगर प्रमुखप्रति बढ्दै गएको छ ।

नेकपा एमालेबाट जननिर्वाचित उपप्रमुख राना धनगढीमा आयोजना हुने कार्यक्रमको प्रमुख अतिथि हुन पाउँदा नगर प्रमुख गोपाल हमाललाई सहयोग गर्दै आइरहेकी छिन् । उनले नगरले गरेका राम्रा कामबारे कार्यक्रममा चर्चा गर्दै आइरहेकी छिन् भने नगर प्रमुख हमालले आफनो सामाजिक सञ्जालमार्फत गरिरहेका छन् । नगर प्रमुख हमालले संविधानले व्यवस्था गरेको गोपनियताको हक र सर्वोच्चले दिएका आदेश लत्याउँदै व्यक्तिका गोपनियता आफनो सामाजिक सञ्जालमा राख्ने गरेका छन् ।

नगर प्रमुख र जननिर्वाचित वडा अध्यक्ष तथा कार्यपालिका सदस्यबिचको दुरी बढेका कारण नगर सभा र कार्यपालिका बैठक बस्न नसकेको कार्यपालिका सदस्यहरुको भनाइ छ । सो कार्यविधि विरुद्ध सर्वोच्चमा रिट दायर भई कारण देखाउँ आदेश जारी भइसकेको छ ।