यू-१९ विश्वकप : दक्षिण अफ्रिका र आयरल्यान्डको विजयी सुरुवात

यू-१९ विश्वकप : दक्षिण अफ्रिका र आयरल्यान्डको विजयी सुरुवात

काठमाडौं । आईसीसी यू-१९ विश्वकप २०२४ मा घरेलु टोली दक्षिण अफ्रिका र आयरल्यान्डले विजयी सुरुवात गरेका छन् ।

शुक्रबार राति सकिएको खेलमा दक्षिण अफ्रिकाले वेस्टइन्डिजलाई ३१ रनले हरायो । जितको लागि २८६ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज ४०.१ ओभरमा ३१ रनमा अल आउट भयो ।

वेस्टइन्डिजका विकेटकिपर जेवेल एन्ड्रयुले ९६ बलमा १४ चौका र ३ छक्कासहित १३० रनको सानदार शतकीय इनिङ खेले पनि जिताउन सकेनन् । दक्षिण अफ्रिकाको जितमा क्वेना माफकाले ९.१ ओभरमा १ मेडनसहित ३८ रन खर्चेर ५ विकेट लिए । राइली नर्टनले ३ विकेट लिए ।

त्यसअघि सेन्वेस पार्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको थियो । मध्यक्रमका ब्याटर डेवान मारिसले ३८ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ६५ रन बनाए । कप्तान जुआन जेम्श ४७, डेविड टिगर ४४ र लुआन ड्रे प्रिटोरियसले ४० रन बनाए । वेस्टइन्डिजका नाथन सेलीले सर्वाधिक तीन विकेट लिए । नाथन एडवार्ड र डेशावन जेम्सले २/२ विकेट लिए ।

अर्को खेलमा आयरल्यान्डले अमेरिकालाई ७ विकेटले हरायो । १०६ रनको सामान्य लक्ष्य आयरल्यान्डले २२.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । आयरल्यान्डको जितमा रयान हन्टरले ६३ बलमा ५ चौकासहित सर्वाधिक ५०, केन हिल्टन र फिलिफुस ले रक्सले २३/२३ रन बनाए । अमेरिकाका अर्या गर्गले सर्वाधिक दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका ४०.२ ओभरमा १०५ रनमा अल आउट भएको थियो । अमेरिकाका खुश भलालाले सर्वाधिक २२ रन बनाएका थिए । आयरल्यान्डका रुवेन विल्सन र ओलीभर रिलेले ३/३ विकेट लिए ।

आज यू-१९ विश्वकपमा बंगलादेशले भारतसँग, इंग्ल्यान्डले स्कटल्यान्ड र अफगानिस्तानले पाकिस्तानसँग खेल्नेछ । सबै खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ बजे सुरु हुनेछन् । नेपालले भने आइतबार न्युजिल्यान्डसँग खेल्नेछ । नेपालको समूह डी मा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन् ।