सरकारले प्रदेश सभालाई पर्याप्त विजनेस दिनुपर्छः नेता सोडारी

सरकारले प्रदेश सभालाई पर्याप्त विजनेस दिनुपर्छः नेता सोडारी

धनगढी । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीले प्रदेश सभालाई पर्याप्त विजनेस दिन सरकारसंग अनुरोध गरेका छन् ।

आज बसेको प्रदेश अधिवेशनको विशेष समयमा बोल्दै नेता सोडारीले सभा सुरु भएरमात्र नपुग्ने उनको भनाई छ ।

‘सरकारले छ महिना भित्र अर्को सदन बोलाउन सक्ने संवैधानिक अधिकार छ । हामी तिन महिनाभित्रनै अर्को संसद देख्यौं । प्रदेश सरकारलाई धन्यवाद दिन चाहन्छौं । सरकार सदनलाई अगाडि बढाउन तत्पर छ भन्ने देखिएको छ’ उनले भने ‘तर, हामीले देखिरहेका छौं । भोगिरहेका छौं । मुख्यमन्त्रीज्यू अगाडि हुनुहुन्छ । सरकारलाई थप विजनेस दिन हुन हार्दिक अपिल गर्दछु । हामीले थाहा पाएका छौं । सदनमा विजनेस छैन् । सभामुखज्यूले अनिश्चितकालका लागि बैठक स्थगित गर्न नपरोस । थप विजनेस आयोस ।’ 

उनले ऐन नआएकोले सरकारले धेरै काम गर्नुपर्ने अवस्था रहेको बताए ।

नेता सोडारीले दिवंगत मन्त्रीका ड्राइभर र परिवारबारे सरकार बेखबर बनेको बताउँदै ‘चालक र मन्त्रीका परिवारलाई क्षतिपूर्ति दिने बारे सरकारले ध्यान नदिएको गुनासो आइरहेको छ । आफ्नै सहकर्मीबारे सरकारले नसोचे त्यसले राम्रो सन्देश दिँदैन ।’

उनले विकास आयोजनाबारे सरकारले गम्भिर भएर कार्यसम्पादन समिक्षा गर्नुपर्ने बताए । उनले भने –‘हामी सुशासन, विकास र समृद्धिका कुरा गरिरहेका छौं । तर, आर्थिक वर्षको अन्त्यमा खर्च गर्न सकेनौं भने उचित हुँदैन । कार्य सम्पादन मूल्यांकनका आधारमा अघि नबढ्ने हो भने र यस्तै हो भन्ने हो भने समस्या हुन्छ । यस्तै कारणले अहिले प्रदेश संरचनामा वितृष्णा पैदा गरिरहेको छ ।’

उनले सहमति, सहअस्तित्व र सहकार्यका आधारमा अघि बढ्न जरुरी रहेको बताए ।