तालमा डुङ्गा डुब्दा १२ बालबालिकासहित १४ जनाको मृत्यु

तालमा डुङ्गा डुब्दा १२ बालबालिकासहित १४ जनाको मृत्यु

गुजरात । गुजरातको वडोदरास्थित हरनी तालमा बिहीबार डुङ्गा डुब्दा १२ बालबालिकासहित १४ जनाको मृत्यु भएको छ । घटना लगत्तै गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल घटनास्थल पुगेर खोजी तथा उद्धार कार्यको जानकारी लिएका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । मोदीले दुःखको यस घडीमा शोक सन्तप्त परिवारजनमा आफ्नो समवेदना रहेको उल्लेख गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । 

प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका आफन्तलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ प्रदान गरिने भएको छ । केन्द्रीय गृहमन्त्री अमित शाहले पनि राज्यका मुख्यमन्त्रीसँग कुरा गरेर घटनाबारे जानकारी लिएका छन्।

स्थानीय रिपोर्टका अनुसार डुङ्गा खचाखच भरिएको थियो। ती बालबालिका आफ्ना शिक्षकसँग हरनी ताल पुगेका थिए । रिपोर्टका अनुसार बोटिङ गर्दा बच्चाहरूको सुरक्षा सुनिश्चित गर्न लाइफ ज्याकेटहरू पूर्ण रूपमा फिट गरिएको थिएन। यस विषयमा अनुसन्धान सुरु गरिएको जानकारी दिइएको छ ।