११ हजार नपाउँदा हत्या, १९ वर्षपछि हत्यारा पक्राउ

११ हजार नपाउँदा हत्या, १९ वर्षपछि हत्यारा पक्राउ

१९ वर्षअघि भक्तपुरको कटुन्जेमा भएको विजयश्वरी प्रजापतिको हत्यामा घरमा काम गर्न राखिएका घरेलु कामदार नै संलग्न भएको खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले १९ वर्षपछि हत्यामा संलग्न पर्सा सुवर्णपुरका देवीरमण अधिकारीलाई पक्राउ गरेर सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

अधिकारीले ८ असार २०५७ मा भक्तपुर कटुन्जेस्थित घरमै विजयश्वरीको हत्या गरेर फरार भएका र उनलाई १९ वर्षपछि शनिबार रूपन्देहीको सिद्धार्थ नगरपालिका—१ बेलहियाबाट पक्राउ गरिएको सीआईबी प्रमुख डीआईजी निरज शाहीले जानकारी दिए ।पक्राउ परेका अधिकारी घरेलु कामदारका रूपमा विजयश्वरीकै घरमा कार्यरत रहेको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

यसरी भयो हत्या

प्रहरीका अनुसार हत्यासँग जोडिएको विषयको कहानी लामो छ । हत्या गरिएका विजयश्वरीका श्रीमान् तुल्सीभक्त प्रजापतिले पर्सामा डीएफओ हुँदा अधिकारीलाई आफू कार्यरत कार्यालयमा करारमा ज्यालादारी कर्मचारी नियुक्त गरेका थिए ।
तुल्सीभक्त सरुवा भएर मध्यमाञ्चल क्षेत्रीय वन कार्यालय हेटौंडामा आएपछि करारमा नियुक्त गरिएका अधिकारीको जागिर छुट्यो । त्यसपछि उनले मासिक १ हजार ५ सय ज्याला दिने गरी अधिकारीलाई आफ्नै घरमा घरेलु कामदारका रूपमा ल्याएका थिए ।

कर्मचारी हुँदै कामदारका रूपमा घरमा ल्याइएका अधिकारीले करिब सात महिना काम गरेपछि आफूलाई आवश्यक परेको भन्दै करिब ११ हजार रुपैयाँ मागेका थिए । तर, विजयश्वरीले उल्टै आफ्नो ३ हजार चोरी भएको भन्दै अधिकारीमाथि नै शंका गर्न थालिन् । त्यसपछि अधिकारीले माग गरेको सो रकम तत्कालै दिन नसक्ने बताएपछि अधिकारीले उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट देखिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता एवं एसपी दीपक रेग्मीले जानकारी दिए ।

निरन्तर खोजीमा थिए अधिकारी

हत्यापछि फरार रहेका अधिकारीलाई नै प्रहरीले सुरुदेखि नै हत्यामा संलग्न रहेको आशंका गर्दै आएको थियो । तर, उनी हत्यालगत्तै फरार रहेका कारण प्रहरीले पक्राउ गर्न सकेको थिएन । अधिकारी कहिले नेपाल र कहिले भारत आउजाउ गर्दै लुकीछिपी बस्दै आएका कारण प्रहरीले उनलाई पक्राउ गर्न नसकेको हो । आइतबार भने प्रहरीले विशेष सूचनाका आधारमा रूपन्देहीको सिद्धार्थ नगरपालिका—१ बेलहियाबाट प्रकाउ गरेको हो ।

उनी भारतमा रहँदा बनारस र पुणेमा बसेको र त्यहाँ रहँदा नाम परिवर्तन गरेर भारतीय सवारीचालक अनुमतिपत्रसमेत लिएको प्रहरीको अनुसन्धानले देखाएको छ । यसबीचमा उनी चारपटक नेपाल आएको समेत प्रहरी अनुसन्धानमा खुलेको छ ।

पक्राउ परेका अधिकारीलाई ब्युरोले सोमबार नै आवश्यक कानुनी कारबाहीका लागि महानगरीय प्रहरी वृत्त जगाती, भक्तपुरलाई जिम्मा लगाएको छ ।