फेरि प्रहरीले पक्राउ गर्यो बिना कारण सोनी कम्पनीका दुई कर्मचारी

फेरि प्रहरीले पक्राउ गर्यो बिना कारण सोनी कम्पनीका दुई कर्मचारी

धनगढी । धनगढीबाट प्रदुषर्ण कर छली गरेका व्यवसायीसंग कर उठाउन गएका सोनि कन्स्ट्रक्सनका दुई कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिबार कैलालीको अत्तरियाबाट प्रहरीले सरसफाईरप्रदुषण कर संकलन गर्न धनगढीमा ठेक्का पाएको कम्पनिका दुई जनालाई बिना कारण पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय मालाखेतीले अत्तरिया स्थित सब्जी मण्डीबाट सरसफाईरप्रदुषण कर संकलन गर्ने सोनी कन्स्ट्रक्सनका कञ्चनपुरको कृष्णपुर नगरपालिका – ६ का पदम सुनार र सुरज विकलाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी गणेश बरालले तरकारीको ट्रक रोकेर पैसा लिएको गुनासो आएपछि २ जनालाई पक्राउ गरेको बताए । उनले उनीहरूले के कारणले पैसा मागिरहेका थिए भन्ने बारेमा भने अनुसन्धान भइरहेको बताए । दुवै जना अहिले प्रहरी हिरासतमै रहेका छन । 

सोनी कन्स्ट्रक्सनका संचालक हरी भट्टराइले भने भारतबाट आयात हुने माछा, मासुजन्य बस्तु, तरकारी, फलफूल, कोइला, गट्टा तथा प्रदुषण जन्य सामाग्रीमा लाग्ने सरसफाइ करको ठेक्का पाएकाले आफ्ना कर्मचारीले कर उठाएको बताए ।
उनले धनगढी उपमहानगरपालिका संग भएको सम्झौता बमोजिम कर संकलन गर्दा प्रहरीले बिना कारण आफ्ना कर्मचारीलाई पक्राउ गरेको बताए । धनगढीबाटै कर संकलन गर्नुपर्ने भएपनि उक्त तरकारीको ट्रक प्रहरीकै संरक्षणमा धनगढीबाट अत्तरिया आएकाले आफूहरू पनि अत्तरिया पुगेर कर संकलन गर्न खोजेको बताए । 

यसअघि पनि धनगढीबाटै सोनी कन्स्ट्रक्सनका एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको थियो । पछि सम्झौता अनुसार नै कर संकलन गरिएको भन्दै ति कर्मचारी छुटेका थिए । 

धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि भारतबाट आयात हुने सरसफाइ तथा प्रदुषण जन्य सामाग्रीको शुल्क संकलन गर्न सोनी कन्स्ट्रक्सन संग ७९ लाख ९९ हजार ९०१ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।

जस अनुसार माछा, कुखुरा, खसी, बोका, बंगुर, मासुजन्य समानमा प्रतिकिलो २० रुपैयाँ, तरकारी तथा फलफुलजन्य सामग्रीमा प्रति क्विन्टल १५ रुपैयाँ र कोइला, गट्टा तथा प्रदुषण जन्य सामाग्रीमा प्रति क्विन्टल २० रुपैयाँ सोनी कन्स्ट्रक्सनले कर संकलन गर्ने सम्झौता भएको छ । 

उक्त सम्झौता अनुसार आफूहरूले कर संकलन गर्दा पटक पटक प्रहरी संग विवाद हुँदै आएको संचालक भट्टराइले बताए ।