गोदावरी नगरपालिकाको प्रशासकिय भवन दोश्रो पटक उद्घाटन

गोदावरी नगरपालिकाको प्रशासकिय भवन दोश्रो पटक उद्घाटन

धनगढी । कैलालीको गोदावरी नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गरिएको छ । 

नेकपा एमालेको विरोधकाबीच नगरप्रमुख वीरेन्द्र भट्टले भवन उद्घाटन गरेका हुन् । 

एमालेबाट निर्वाचित तत्कालीन मेयर हरिसिंह साउदले सो भवनको २०७८ चैत्र १४ गते उद्घाटन गरेका थिए । दोस्रो पटक भवनको उद्घाटन गर्न नहुने भन्दै एमालेले बिहानैदेखि नगरपालिका घेराउ गर्दै नाराबाजी गरेको थियो । 

एमालेको विरोधका बाबजुद भवन उद्घाटनको पुरानो शिलालेख हटाई नयाँ शिलालेख पनि राखिएको छ ।

सो अवसरमा नगरप्रमुख विरेन्द्र भट्टले यसअघि भवन गलत तरिकाले उद्घाटन गरिएको बताए ।

‘हिजो गलत तरिकाबाट भवनको उद्घाटन गरिएको थियो । त्यसबेला पनि सबै राजनीतिक दलहरूले त्यसको विरोध गरेका थिए’ उनले भने ‘त्यतिबेला बाहिर प्रहरी राखेर हलमा उद्घाटन कार्यक्रम गर्नुभएको थियो । एक जना विद्यार्थी पनि थुनिएका थिए । हामीले खुला कार्यक्रम गरेर उद्घाटन गरेका छौ ।’

उनले भवन निर्माणको लागि एमाले सहितका जनप्रतिनिधिको सहभागितामा कार्यपालिकाबाट निर्णय भएको बताए । ‘हामीले राजनीतिक प्रतिशोध नराखिकन हिजोको मितिमा पूर्व मेयरसापले गर्नुभएका कामहरूलाई धन्यवाद दिदै एमालेबाट निर्वाचित ३ जना जनप्रतिनिधि सहितको कार्यपालिका बैठकबाट भवन उद्घाटन गर्ने निर्णय भएको हो’ उनले भने ‘शिलान्यासमा पूर्व मेयरको नाम राखेर अहिले समुद्घाटन गर्ने भन्ने कुरा भएको थियो ।’