गोदावरी नगरपालिकाको भवन पुनः उद्घाटन कार्य तत्काल रोक्न एमालेको माग

गोदावरी नगरपालिकाको भवन पुनः उद्घाटन कार्य तत्काल रोक्न एमालेको माग

कैलाली। नेकपा एमालेले कैलालीको गोदावरी नगरपालिका को भवन पुनः उद्घाटन गर्ने कार्य तत्काल रोक्न माग गरेको छ। बुधवार नगर पार्टी कार्यालय अत्तरिया बन खेतमा पत्रकार सम्मेलन गर्दै एमाले नेताहरूले उक्त कार्यको विरोध गर्ने जनाएका हुन ।

साथै उनीहरूले पुनः उद्घाटन गर्ने कार्य तत्काल रोकेर एमाले सँग वार्ता गर्न माग गरेका छन् ।पत्रकार सम्मेलनमा बोल्दै एमाले केन्द्रीय सदस्य सन्तोष शर्माले उद्घाटन भैसकेको भवन पुनः उद्घाटन गर्नु गैर राजनीतिक चरित्र हुने बताइन् । उनले यसको नजिर पनि गलत बस्ने र दूरगामी प्रभाव पार्ने बताइन् । उनले भनिन्, एउटा सरकार को पालामा उद्घाटन हुने अर्को सरकार आएपछि भत्काउने गर्दै जाने हो भने भोलीका दिनमा के के हुन्छ । यसको पनि हिसाबकिताब राख्नु पर्ला।

एमाले प्रदेश कमिटी सदस्य गोकर्ण भट्टले नगरपालिका को भवन पुनः उद्घाटन को कार्य नाटक मात्रै भएको बताए । उनले विकासका अन्य धेरै कार्य गर्नुको साटो अहिलेका नगरप्रमुखले पुनः उद्घाटन को नाटक मञ्चन गरेको दाबी गरे । उनले भोलि हुने नगरपालिका भवन उद्घाटन को कार्य तत्काल रोकेर एमाले सँग बार्तामा बस्न आग्रह गरे ।

यस्तै नगरपालिकाका निबर्तमान नगरप्रमुख हरि सिँ साउँदले नगरपालिका को भवन उद्घाटन त्यो बेला विधि पूर्वक एडिबी कै प्रतिनिधि को सर सल्लाहमा गरिएको दाबी गरे । उनले भवन पुनः उद्घाटन गर्ने कुरा राजनीतिक संस्कार भन्दा बाहिर को भएको जिकिर गरे । उनले लोकतन्त्र को सामान्य अभ्यास भन्दा बाहिर गएर एउटा जनप्रतिनिधि को पालामा भएको भवन पुनः उद्घाटन गर्छु भन्नू लोकतान्त्रिक नभएको तर्क गरे ।

नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाले नगरपालिका को भवन पुनः उद्घाटन नगर्न नगरप्रमुखलाई पटक पटक ध्यानाकर्षण गराएको तर त्यसको बेवास्ता गरिएको बताइन् । उनले भोलि पुनः भवन उद्घाटन गरे आफूहरूको सहभागिता नहुने बताइन् । यसैबिच एमाले गोदावरीले एक प्रेस बिज्ञपति समेत जारी गरेको छ ।नगर अध्यक्ष सन्तोष सिंह ले पुनः उद्घाटन गर्ने कार्यले मुठभेड को अवस्था निम्त्याएको बताएका छन् । उनले जबर्जस्ति भवन को उद्घाटन गरिए त्यसपछि आउने परिणाम को जिम्मेवारी स्वयं मेयरले लिनुपर्ने चेतावनी समेत दिए ।एमाले गोदावरीले बिज्ञपति मार्फत पुनः उद्घाटन गरिए प्रतिकार गर्ने चेतावनी दिएको छ ।

तत्कालीन नगरप्रमुख हरि सिँ साउँदले २०७८ चैत्र १४ गते अधुरो भवन उद्घाटन गरेको भन्दै अहिलेका नगरप्रमुख बिरेन्द्र भट्ट ले पुनः भोलि उद्घाटन गर्ने भएका छन्। त्यसको लागि नगरपालिका ले सबै तिर पत्राचार समेत गरिसकेको छ । मङ्गलवार मात्रै एडिबीले भवन निर्माण सकिएको भन्दै नगरपालिकालाई भवन हस्तान्तरण गरेको थियो।अहिले उद्घाटन गर्दा तत्कालीन नगरप्रमुखले उद्घाटन गरेको बोर्ड भने नहटाइने नगरपालिका स्रोतले बताएको छ । एमाले बाट निर्वाचित जनप्रतिनिधिहरुले पनि पुनः भवन उद्घाटन गर्ने कार्यको केही दिन अधि विरोध गरेका थिए। उनीहरूले नगरपालिका को १०५ औँ बैठक झुक्याएर बोलाएर पुनः उद्घाटन गर्ने निर्णय गरेको आरोप लगाएका छन् । एडिबीले १३ करोड ४६ लाख १ हजार ४३ मा उक्त भवन को निर्माण गरेको थियो।