चितुवा देखिन थालेपछि स्थानीयवासी समस्यामा

चितुवा देखिन थालेपछि स्थानीयवासी समस्यामा

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–४ टुँडिखेल, अस्पताल लगायतका क्षेत्रमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि स्थानीयवासी समस्यामा परेका छन् । टुँडिखेल टोल विकास समितिका अध्यक्ष किसान प्रधानले यस ठाउँमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि सतर्क रहन सबैलाई आग्रह गरिएको जानकारी दिए ।

उनले भने, 'दिनहुँजसो चितुवा देखापर्दा सबैजना समस्यामा छन् । साँझका समयमा बालबालिकालाई अस्पताल तथा टुँडिखेल मैदान वरपर जानबाट रोक्न अभिभावकलाई आग्रह गरेका छौँ ।'' अध्यक्ष प्रधानले घर आसपास झाडी सरसफाइ गर्न सबैलाई भनिसकेको जानकारी दिए । स्थानीय अमिर गुरुङले टुँडिखेलमा चितुवा देखापरेकाले साँझ र बिहानको झिसमिसे उज्ज्यालोमा सतर्कता अपनाउन आग्रह गरे ।

उनले भने, ''बालबालिका बढी मात्रामा चितुवाको आक्रमणमा पर्ने गरेकाले साँझ र बिहानको समयमा बढी चनाखो हुनुपर्छ ।'' बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले चितुवाको आक्रमणबाट बच्न सतर्कता अपनाउन आग्रह गरिएको जानकारी दिए । पछिल्लो केही वर्षयता तनहुँमा चितुवाको आक्रमणबाट मानिस घाइते तथा मृत्यु हुने क्रम बढेको छ ।

चितुवाको आक्रमणबाट पछिल्लो छ वर्षको अवधिमा १३ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन् । चितुवाको आक्रमणबाट भानु र शुक्लागण्डकी नगरपालिका सहित आँबुखैरेनी र बन्दीपुर गाउँपालिकामा बालबालिकाको मृत्यु भएको छ ।

मृग, वनकुखुरालगायत वन्यजन्तु मानिसले सिकार गरिदिँदा वनमा सिकार अभाव भई चितुवाले मानिसको सिकार गर्न थालेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न आग्रह गरिएको छ ।

चितुवासँग जोगिन साँझ तथा रातका समयमा घरगोठ उज्ज्यालो बनाउने, झाडी सफा गर्न तथा बच्चा तथा वृद्धको विशेष ख्याल र रेखदेख गर्नुपर्ने सहायक वन अधिकृत काशीराज पण्डितले बताए । जङ्गल फडानी गरेर बस्ती बसाल्ने, जङ्गली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको छ ।

उनले भने, 'तनहुँमा विशेषगरी चितुवाको समस्या रहेकाले चितुवाको स्वभाव, यसले आक्रमण गर्न सक्ने समयलगायतका विषयमा उपभोक्तालाई बेला–बेलामा जानकारी गराएका छौँ । चितुवा सक्रिय हुने समय र आनीबानी बुझ्न सकिए यसबाट बच्न सकिन्छ ।'