उपाधिका लागि नेपालगंज–११ र फारवेष्ट पशुपति भिड्ने

उपाधिका लागि नेपालगंज–११ र फारवेष्ट पशुपति भिड्ने

धनगढी : कैलालीको अत्तरीयामा जारी गोदावरी राजधानी कप खुल्ला फुटबल प्रतियोगिताको उपाधिका लागि नेपालगंज–११ बाकें र फारवेष्ट पशुपति युवा क्लब धनगढी भिड्ने भएका छन् । सेमिफाईनलमा जित हात पार्दै दुवै टीम उपाधिका लागि एक अर्कासँग प्रतिस्पर्धा गर्न लागेका हुन् । 

तेघरी स्थित वनदेवी युवा क्लबको मैदानमा भएको पहिलो समिफाईनलमा नेपालगंज–११ ले आयोजक पिएफए स्पोर्टस क्लबलाई २–० ले हराउँदै उपाधि नजिक पुगेको हो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ बराबरी भएपनि दोस्रो हाफमा दुई गोल गर्दै नेपालगंज–११ उपाधि नजिक पुगेको हो ।

नेपालगंजलाई जिताउन विवेक पुनले दोस्रो हाफको १८ औं मिनेटमा पहिलो गोल गरे । दोस्रो हाफको ३९ औं मिनेटमा विनोद केसीले पेनाल्टी मार्फत अर्को गोल गर्दै आफ्नो टीमलाई उपाधि नजिक लगे । पिएफए स्पोर्टस क्लबका खेलाडीले फल गरेपछि नेपालगंजले पेनाल्टी पाएकोमा विनोदले त्यसलाई गोलपोष्टको दिशा दिएका हुन् ।

यसअघि वनदेवी युका क्लबकै मैदानमा गत वैशाखमा भएको मेयर कप प्रतियोगितामा नेपालगंज ११ का अधिकांश खेलाडी सम्मिलित खजुरा गाउँपालिका च्याम्पीयन बनेको थियो । पिएफए स्पोर्टस क्लबको आयोजनामा पारी प्रतियोगिताको दोस्रो सेमिफाईनलमा धनगढीको फारवेष्ट पशुपति युवा क्लबले सुख्खडको घोडाघोडी यु्वा क्लबलाई १–० ले किराना लगाएको छ ।

निकै प्रतिस्पर्धात्मक खेलको सुरुवातमा पाएको मौकालाई सदुपयोग गर्न सफल भएपछि फारवेष्ट पशुपति फाईनल पुगेको हो । खेल सुरु भएको पहिलो हाफको ७ औं मिनेटमा फारवेष्ट पशुपति युवा क्लबका चेतमान कडायतले गोल गरेका थिए । दोस्रो हाफमा दुवै टीमले गोल गर्ने प्रयास गुमाउँदा फारवेष्ट पशुपति विजयी भएको हो । 

प्रतियोगिताको विजेताले चार लाख तथा उप विजेताले दुई लाख नगद सहित ट्रफी, मेडल तथा प्रमाण पत्र पुरस्कार पाउने छन । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार नगद सहित पुरस्कार पाउने छन । उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्टाइकर, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई १५÷१५ हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ दी म्याच खेलाडीलाई तीन हजार पुरस्कार प्रदान गरिनेछ ।