‘एक रुपियाँ पुरस्कार पाउँदा संसार जितेझैं लाग्यो’

‘एक रुपियाँ पुरस्कार पाउँदा संसार जितेझैं लाग्यो’

काठमाडौं । राजधानीले काली–कर्णालीलाई अशिक्षित, हलिया प्रथा, छाउपडी प्रथा भएको, विकास नपुगेको यस्तै अनकन्टार क्षेत्रको रुपमा चिन्छ । मैले बुझेको काली–कर्णाली भौगोलिक रुपमा विकट, आर्थिक रुपमा विपन्न छ । तर सांस्कृतिक रुपमा भाषा, लोकसाहित्यमा काली–कर्णाली जति धनी नेपालमा अरु कुनै क्षेत्र छैन । 

‘काली–कर्णालीको लोकसाहित्य तथा संस्कृति’ का लेखक एवम् ग्रन्थकार यज्ञराज उपाध्यायले भने, ‘लोकसाहित्य, संस्कृति, भाषा, परम्परा, चालचलनको अत्यन्त समृद्ध, विराट, विधागत विषय भएको समुद्रजस्तै विशाल क्षेत्र हो यो ।’

तत्कालीन अवस्थामा खस राजाहरुको राजधानी जुम्लाको सिन्जा थियो । जसलाई खसान क्षेत्र पनि भनिन्थ्यो । सो खसान क्षेत्र नेपाली भाषाको उद्गमस्थलको रुपमा रहेको उनले उल्लेख गरे । 

उनले भने, ‘त्यो क्षेत्रबाट नेपाली भाषाको बिऊ उत्पत्ति भएकाले नेपाली भाषालाई खस भाषाको रुपमा पनि मानिन्छ । सिन्जा क्षेत्रबाट उत्पत्ति भएकाले सिन्जाली भाषा पनि भन्ने गर्दछन् । त्यहीबाट उत्पत्ति भएको नेपाली भाषा, अहिलेको परिस्कृत भाषा हो ।’ 

त्यहीबाट सर्दै गोरखा पुग्यों र गोरखाली भाषाको नामले यसले परिचय बनायो । परिस्कृत रुपमा अहिलेको समृद्ध नेपाली भाषा बन्यो, उद्गमस्थल काली–कर्णाली क्षेत्र  । भानुभक्तले रामायण यही भाषामा लेखेको प्रसङ्ग उनले जोडे। उनको जन्म २०२३ सालमा अछामको साँफेबगर –२ गोयलापानीमा भएको हो । 

सानै उमेरदेखि लोकगायनमा अभिरुची राख्थे । दिनभरी खेती किसानी गरेर बेलुका सार्वजनिक ठाउँमा भेला भइ ठाडो भाका हाल्ने परम्परा थियो । यसका लागि कुनै चाडपर्व, मेलापर्व नै कुर्नुपर्ने अवस्था थिएन । यस खालको परिवेशले नै साहित्य र संस्कृतिका मूर्त, अमूर्त सम्पदा सङ्कलन गर्न अभिप्रेरित गरेको उनी बताउँछन्। 

२०३४ सालतिर झकाले गाउँमा सिँचाइका लागि कुलो आयो । त्रिपुरासुन्दरी प्राथमिक विद्यालयमा चार कक्षामा पढ्ने गरेका उपाध्यायले सोही कुलोको विषयमा ‘वर्खा लाग्यो पहाडतिर आया अहिरापैरा ...’ भन्ने गीत गाए । गाउँका एक समाजसेवी खड्कसिंह कुँवरले सो गीत मन पराएर एक रुपियाँ पुरस्कार दिए ।

त्यो बेला एक रुपियाँ पुरस्कार पाउँदा संसार जितेझैं लागेको अनुभव उनले सुनाए । उनले भने, ‘त्यतिबेला दश पैसाको स्कुल फिस तिथ्र्यौं । म त यस्तो अचम्मित भएँ, पुरस्कार पाइन्छ भन्ने पनि थाहा थिएन । उहाँले मलाई अंगालो मार्नुभयो, बधाई दिनुभयो । निरन्तर रुपमा गीत गाइरहनुपर्छ भनेर प्रोत्साहित गर्नुभयो । संसारै जितेजस्तो अनुभूति मेरो बालसुलभ हृदयलाई भयो ।’ 

यस पुस्तकका सम्पादक एवम् समीक्षक सुभाषचन्द्र भण्डारीले लेखेजस्तै ‘लोकसंस्कृतिको समुन्नत भूमिमा लोकसाहित्यको सौगात छर्दै यति धेरै अभिलुप्त लोकविधाहरुको सिंहावलोकनसहित सम्पादन गरिएको सम्भवतः यो पहिलो ग्रन्थ हुनुपर्छ’ भन्ने जिज्ञासामा उनले विभिन्न कृतिहरु प्रकाशन भए पनि सायद यसअघि प्रकाशन भएका कृतिभन्दा गहन रुपमा सम्पादन भएको पहिलो वा यस्तै ग्रन्थ विगतमा नभेटाएको पनि हुन सक्ने अर्थमा त्यसो लेखिएको हुनसक्ने धारणा राखे । 

उनले यी सामग्री २०५५ सालदेखि सङ्कलन गर्न सुरु गरिएको र पछिल्लो तीन वर्षमा लेखन कार्य समापन भएको बताए । ग्रन्थमा काली–कर्णाली क्षेत्रका सबै विधा, लोककथा, उक्ति, उखानटुक्का, सगुन, माँगल, माडी, होरी, हड्केली, पुतला, चाँचरी, भुओ, भोलाउलो, ताल, भाका, लोकगीत, चाडपर्व, लोकबाजाको सचित्र वर्णन, थारु समुदायको लोकसंस्कृति, लोकनृत्य, दार्चुलाका सौका समुदायको लोकगीत, तन्त्रमन्त्र, १३ औं तथा १४ औं शताब्दीदेखि लोकगायन परम्पराका विकासक्रम ग्रन्थमा समेटिएको उनको भनाइ छ ।

उनले श्रुति तथा मौखिक परम्पराबाट एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुने भन्दै लोकसाहित्य तथा संस्कृतिको संरक्षण एवम् सम्वद्र्धन गर्न जोड दिए।    

उनले भने,  ‘बाजे, बज्यै, आमाबुवा, हाम्रा पुर्खाको मृत्यु भएसँगै ती साहित्य संस्कृति समाप्त भए । बचेकुचेको कुरा सङ्कलन गरेर सङ्ग्रहित गरेको छु । बाँकी रहेको कुरा नेपालका तीनै तहका सरकारले तदारुकताका साथ अनुसन्धानकर्ता लगाएर समयमै संरक्षण, सम्वद्र्धन गर्नुपर्छ । नभए, भोलि पछुताउनुबाहेक केही विकल्प रहँदैन ।’