किन मागे विराट कोहलीले माफी स्मिथसँग माफी ?

किन मागे विराट कोहलीले माफी स्मिथसँग माफी ?

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले अस्ट्रेलियन ब्याट्सम्यान स्टीभ स्मिथसँग माफी मागेका छन् ।

विश्वकप क्रिकेटका क्रममा गएराति सम्पन्न म्याचपछि कोहलीले स्मिथसँग सार्वजनिक रुपमा माफी मागेका हुन् । खेल सकिएपछि आयोजित पत्रकार सम्मेलनमा उनले स्मिथसँग माफी मागेका हुन् ।

त्यसो त, खेलका क्रममा कोहली र स्मिथबीच कुनै विवाद वा माफी नै माग्नुपर्ने खालको कुनै प्रकारको घटना भएको थिएन । कोहलीले भारतीय प्रशंसकले स्मिथप्रति गरेको व्यवहारलाई लिएर माफी मागेका हुन् ।

भारतीय टिमले ब्याटिङ गरिरहेको समय स्मिथ फिल्डिङका क्रममा बाउन्ड्री छेउमा उभिएका थिए । त्यतिबेला भारतीय कप्तान कोहली क्रिजमा थिए ।

भारतीय प्रशंसकले स्मिथविरुद्ध हुटिङ गरिरहेका थिए । उनीहरुले स्मिथविरुद्ध ‘चिटर’ भन्दै नारा लगाएपछि विराटले क्रिजबाट बाहिर आएर प्रशंसकलाई त्यस्तो व्यवहार प्रदर्शन नगर्न इशारा गरेका थिए । त्यतिमात्र होइन, उनले स्मिथका लागि ताली बजाएर हौसला बढाउन भारतीय प्रशंसकलाई सुझावसमेत दिएका थिए ।