फेरी गुणस्तरहिन सडक बत्ती जडान गर्दै धनगढी

फेरी गुणस्तरहिन सडक बत्ती जडान गर्दै धनगढी

धनगढी । धनगढी उपमहानगरपालिकाले मोहनापुल–अत्तरिया छ लेन सडक अन्तरगत ट्राफिक चौराहदेखि भन्सारसम्म आज (शुक्रबार) देखि सडक बत्ती फेर्न सुरु गरेको छ । तर, जडान भइरहेको एलइडी सडक बत्ति (हलोजन) तथा (स्ट्रिट लाइट) कमसल छन् ।

एलइडी हलोजन बत्तीलाई गुणस्तर मान्न लुमेन, आयाम (डाइमेन्सन), तौल र भित्री व्यास (इनर डायमिटर) स्पष्ट बत्तीको बक्समा उल्लेख हुनुपर्ने हुन्छ । तर, जडान भइरहेको बत्ती कभरमा यी कुरा कुनै उल्लेख छैन् । बत्तीको भित्र ओसरामद्वारा संचालित एलइडी–एक सय २० वाट स्वचालित अटो डाइमिङ्ग विश्वसनीय शक्ति प्रणाली उल्लेख छ ।

सो बत्ती राखिएको कभरमा भने केही लेखिएको छैन् । साथै बत्तीमा न आइएसओ प्रमाणीत उल्लेख छ भने न त कम्पनिकै लोगो छ । 

साे सडक बत्तिमा वारेण्टी र ग्यारेण्टी पनि उल्लेख छैन र कुन कम्पनिबाट बनेकाे स्पष्ट थाहा हुँदैन ।

यसअघि उपमहानगरपालिकाले जडान गरेका ती लाइट परिक्षण गर्दा गुणस्तरहिन उल्लेख भएका थिए । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले ट्राफिक चौराहदेखि भन्सारसम्मको छ लेन सडकमा बत्ती फेर्ने कार्य शुरु भएको बताए । उनका अनुसार सो क्षेत्रको ७२ बोलको दुबैतर्फ एलइडी बत्ती जडान गरिन लागेको बताए ।

उनले गुणस्तरीयबारे जडान भइसकेपछि परिक्षण गरिने बताए । उनले भने –‘अहिले उज्यालो बनाउन बत्ती जडान गर्न लागिएको हो । गुणस्तरबारे पछि हेरौला ।’

पटक–पटक गुणस्तरहिन बत्ती जोड्दै धनगढी

धनगढी उपमहानगरपालिकाले छ लेन सडकमा यसअघि जडान गरेका बत्तीहरु पनि गुणस्तरहिन प्रमाणीत भइसकेको छ । तर, पनि अझै सोही गल्ती उपमहानगरपालिकाले ट्राफिक चौराहदेखि भन्सारसम्म गुणस्तर अप्रमाणित बत्ती जडान गरिरहेको हो ।

धनगढी उपमहानगरपालिका र नेपाल विद्युत् प्राधिकरणअन्तर्गत राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको दुई करोड ६९ लाख ५८ हजार रुपैयाँको लगानीमा सडक बत्ती यस अघि जडान गरेको थियो । ६ लेन सडकको मिडियनमा दुई सय १६ पोलमा चार सय ३२ आधुनिक बत्ती जडान गरिएका छन् । धनगढी चौराहदेखि एयरपोर्टसम्म जडान गरिएका सडक बत्तीहरु पनि कमसल रहेको जनाइएको थियो ।

छ लेन सडकको सडक बत्तीको गुणस्तरमा पनि प्रश्न आएपछि उपमहानगरपालिकाले स्मार्ट स्ट्रिट लाइट जडान गर्ने तयारी गरेको जनाइएपनि अहिले पनि गुणस्तरहिन बत्ती जडान भइरहेको छ ।

उपमहानगरले दोस्रो चरणमा ट्राफिक चौराहादेखि भन्सारसम्म र क्याम्पस रोडमा जडान भएको स्मार्ट स्ट्रिट लाइटको पनि परीक्षण गराएको थियो । स्मार्ट स्ट्रिट लाइट आइएसओ प्रमाणित नभएको पाइएपछि बत्ती बदल्न उपमहानगरले निर्माण कम्पनीलाई पत्राचार गरेको थियो । सडक बत्ती परीक्षणको नतिजा अध्ययन भइरहेको छ भने नयाँ स्मार्ट स्ट्रिट लाइट जडान नगर्दासम्म कम्पनीलाई भुक्तानी नदिने उपमहानगरपालिकाले जनाएको थियो ।

हुनुपर्ने यस्तो थियो तस्बिर–

धनगढीले आफुखुशी परिक्षण नगरि सडक बत्ती जडान गर्दा राज्यकोषको दुरुपयोग भएको मानिने जनप्रतिनिधिहरुको भनाई छ ।