भारतको जितमा भूवनेश्वरको ओभर यसरी बन्यो निर्णायक

भारतको जितमा भूवनेश्वरको ओभर यसरी बन्यो निर्णायक

आइतबार भएको खेलमा भारतले डिफेण्डिङ च्याम्पियन अस्ट्रेलियालाई जारी विश्वकपमा पहिलो हार चखायो। अस्ट्रेलिया भारतसँग ३६ रनले पराजित भयो।

भारतको जितमा उसको ब्याटिङ र बलिङ दुबै चम्कियो। ब्याट्सम्यानहरूले ठूलो रन स्कोर खडा गरेर अस्ट्रेलियालाई ३५३ रनको ठूलो लक्ष्य पछ्याउनुपर्ने चुनौती एकातीर दिए भने बलरहरूले पनि अस्ट्रेलियाका ब्याटस्म्यानहरूलाई खुलेर खेल्न दिएनन्। भारतीय बलरहरूले एकपछि अर्को महत्वपूर्ण विकेट झार्दै ३१६ रनमा अलआउट गरेर भारतलाई जिततर्फ लम्काए।

विश्वकपमा अस्ट्रेलियाविरूद्ध भारतको चौथो जित हो।

ठूलो लक्ष्य दिनु पहिले ब्याटिङ गर्ने टोलीका लागि एउटा सफलता भएपनि सो लक्ष्य पाउनुअगावै टोलीलाई अलआउट गर्नु अर्को महत्वपूर्ण चुनौती हो। त्यसमाथि पछिल्लो समय फममा रहेको अस्ट्रेलियाका लागि भारतको लक्षय असम्भव भने थिएन। हिजोको खेलमा ठूलो लक्ष्य पछ्याउन आएको अस्ट्रेलियाले एकसमय आफूलाई सम्हालेको पनि थियो तर भूवनेश्वरले लिएका निर्णायक दुई विकेटले भारतका लागि जित सम्भव बनाउन ठूलो योगदान दियो।

यस खेलमा भारतका लागि जसप्रीत बुमराह र भुवनेश्वरले ३-३ विकेट लिए भने युज्भेन्द्र चहलले २ विकेट लिएका थिए।

लक्ष्य पछ्याउन आएको अस्ट्रेलियालाई कप्तान एरोन फिन्च र डेविड वार्नरले राम्रो सुरूवात दिए। उनीहरूले क्रमशः ३६ र ५६ रन बनाए। ६१ रनको कुल स्कोरमा वार्नर र फिन्च बीच तालमेल हुन नसक्दा फिन्च पेभेलियन फर्किए।

त्यसपछि वार्नर पूर्व कप्तान स्टीव स्मिथसँग मिलेर पारीलाई अगाडि बढाए। दोश्रो विकेटका लागि ७२ रनको साझेदारी गरेपछि वार्नर ५६ रनको व्यक्तिगत स्कोरमा आउट भए। त्यसपछि ब्याटिङमा उस्मान ख्वाजा आए। उनले स्टीवसँग मिलेर अस्ट्रेलियाको पारीलाई २०० को पार लगे। ख्वाजा त्यसपछि जसप्रीत बुमराहबाट आउट भए। ख्वाजापछि मैदानमा म्याक्सवेल आए।

यससमय अस्ट्रेलिया भारतलाई दबाब दिन सफल भयो। यस समयमा म्याक्सवेलले छिटोछिटो रन बटुले। अस्ट्रेलियाको रनको गति रोक्नलाई त्यसपछि भारतीय कप्तान विराट कोहलीले टोलीको बलिङ रणनीति बदले। उनले बलिङको कमान भूवनेश्वरलाई सुम्पिए। यसको फाइदा भारतले पायो। भूवनेश्वरले एकै ओभरमा ६९ रनको स्कोरमा स्मिथलाई र मार्कस स्टोइनिसलाई पेभेलियन फर्काउँदै अस्ट्रेलियाको कदमलाई पछाडि धकेले।

किनकी अन्तिम १० ओभरमा अस्ट्रेलियाका लागि ११५ रन आवश्यक थियो, भूवनेश्वरले लगातार दुई विकेट एकै ओभरमा लिएपछि श्रृजना भएको दबाब अस्ट्रेलियाका ब्याटस्म्यानहरूले झेल्न सकेनन् र म्याचको रूझान भारततर्फ धकेलियो र जित हासिल गर्न सफल भयो।