पिएम कप सुदूरपश्चिम छनौटको ट्रफी सार्वजनिक

पिएम कप सुदूरपश्चिम छनौटको ट्रफी सार्वजनिक

बैतडी । प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटको ट्रफी सार्वजनिक गरिएको छ। आयोजक सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले आज ट्रफी सार्वजनिक गरेको हो। सार्वजनिक कार्यक्रममा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक रमेश बोहरालगायतको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा दुई टोलीका कप्तानहरूले आफूहरू ट्रफी जित्न तयार रहेको बताएका छन्। उपाधिका लागि मंगलबार बैतडी र कैलाली भिड्दैछन्। समूह चरणका ४ खेलबाट ३ खेल जित्दै अंकतालिकाको शिर्ष स्थानमा रहदै फाइनल पुगेकाले उपाधि जित्नेमा ढुक्क रहेको बैतडीका कप्तान वसन्त खत्रीले बताउनुभयो। समूहचरणमा खेलमा गरेका गल्तीलाई सुधार्दै ट्रफी उचाल्नेमा ढुक्क रहेको कप्तान खत्रीको दाबी छ।

राष्ट्रिय प्रतियोगिता खेलेका सिनियर र जुनियर खेलाडी मिलेर बनेको बलियो टोली रहेकाले फाइनल खेल जित्ने बैतडीका प्रशिक्षक दिपेन्द्रबहादुर चन्दले बताउनुभयो। बैतडीको कमजोरीको फाइदा उठाउदै आफूहरू उपाधि रक्षा गर्ने लक्ष्यमा रहेको कैलालीका कप्तान नारायण जोशीले बताउनुभयो।

घरेलु मैदान र टिमको सबै पक्ष बलियो रहेकोले ट्रफी हात पार्नेमा कुनै शंका नरहेको कैलालीका प्रशिक्षक देवनारायण झाले बताउनुभयो। समूह चरणका समान तीन खेल जित्दै बैतडी शिर्ष र कैलाली दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको हो।

उपाधि भिडन्त फाप्ला मैदानमा मंगलबार बिहान ९ बजेदेखि शुरू हुनेछ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा पुस ८ गतेदेखि शुरू भएको छनौट प्रतियोगितामा प्रदेशका शुरू भएको थियो। प्रतियोगितामा प्रदेशका ८ जिल्लाको सहभागीता रहेको थियो।

प्रादेशिक क्रिकेट संघले एलाइट र प्लेट च्याम्पियनसिप गरेर दुई चरणमा प्रतियोगिता सञ्चालन गरेको हो। गत वर्षको प्रादेशिक छनौटमा सेमिफाइनल पुगेका बैतडी,अछाम,कैलाली र कञ्चनपुरले एलाइट र दार्चुला, बझाङ,डडेल्धुरा र डोटीले प्लेट च्याम्पियनसिप खेलेका हुन्।

प्लेट च्याम्पियनसिपबाट क्वालिफायर भएर बझाङले एलाइट च्याम्पियनसिप खेलेको थियो। यस छनौट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिनेछ।