मानव बेचबिखनको आरोपमा तीनजना पक्राउ

मानव बेचबिखनको आरोपमा  तीनजना  पक्राउ

काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा पोखराबाट तीनजना  पक्राउ परेका छन् । प्रहरीले एक बालिका र दुई महिलाको उद्धारसमेत गरेको छ ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका– ९ पृथ्वीचोकका २९ वर्षीय प्रवीन गुरुङ, पोखरा– १७ बिरौटाका २६ वर्षीय ‍राजेश ठकुरी र पर्वतका ३ वर्षीय निर्मल मल्ल छन् ।

पोखरा– ८ जाल्पारोडस्थित काभ्रेली खाजाघरका सञ्चालकले बालिका तथा महिलाहरूलाई होटेलमा राम्रो काम लगाइदिन्छु भनी होटेलको सरसफाइको काम लगाइदिएका थिए ।

केही समयपछि बालिका तथा महिलालाई राम्रो कमाइ हुन्छ भनी विभिन्न लोभलालच, प्रलोभनमा पारी परपुरुषहरूसँग भेट गराई पोखराका विभिन्न होटेलमा लगी यौनशोषण गराउँदै आइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।
 यस बिषयमा थप अनुसन्धान भइरहेको छ ।