नेहा कक्करको कार्यक्रमका लागि क्षमताभन्दा बढी टिकट बेच्ने पक्राउ

नेहा कक्करको कार्यक्रमका लागि क्षमताभन्दा बढी टिकट बेच्ने पक्राउ

भारतीय गायिका नेहा कक्कर उपस्थित हुने कार्यक्रममा हलको क्षमताभन्दा बढी टिकट बचेर ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पारामाउन्ट इभेन्टका सञ्चालक दीपक घिमिरे छन् ।

ठमेलस्थित लर्ड अफ डिस्को नामक नाइट क्लबमा कक्करको विशेष प्रस्तुति देखाउने भन्दै टिकट बेचेर ठगी गरेको र सबै दर्शकले कार्यक्रम नै हेर्न नपाएकाले पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र वोगटीले बताए । उनका अनुसार प्रत्येक टिकटवापत ५ हजार रुपैयाँ लिइएको थियो ।

अन्तरराष्ट्रिय कलाकार आउँदा समेत प्रहरीसँग आवश्यक सुरक्षा समन्वय नगरेको, क्षमताभन्दा बढी टिकल काटेकोलगायत आरोपमा सञ्चालकलाई पक्राउ गरिएको डिएसपी वोगटीले बताए । सञ्चालकले कार्यक्रम हेर्न नपाएका दर्शकको टिकटको मूल्य फिर्ता नगरे ठगी ऐन अन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए ।