विश्वकप क्रिकेट : टस जितेर अष्ट्रलियाविरुद्ध ब्याटिङ गर्दै भारत

विश्वकप क्रिकेट : टस जितेर अष्ट्रलियाविरुद्ध ब्याटिङ गर्दै भारत

इङ्‍ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगीतामा भारत र अष्ट्रेलियाबीचको खेलमा भारतले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

जारी प्रतियोगितामा अष्ट्रेलियाले दुवै खेलमा जित निकालेको छ भने भारत पनि जितको यात्रालाई निरन्तरता दिन प्रयासमा छ । अष्ट्रेलिया आफ्नो तेस्रो तथा भारत दोस्रो खेलमा बलियो प्रतिस्पर्धीको सामना गर्न लागेका हुन् । अनुभवी खेलाडी रहेका दुवै टोली विजय यात्रालाई निरन्तरता दिने लक्ष्यमा छन् । 

भारतले पहिलो खेलमा दक्षिण अफ्रिकामाथि ६ विकेटको जित निकालेको थियो । अष्ट्रेलियाले वेष्ट इन्डिजमाथि १५ रन तथा अफगानस्तानलाई ७ विकेटले हराएको थियो ।

विश्वकप क्रिकेटमा अनुभवी खेलाडी रहेका यी दुई टोलीबीचको आजको खेल रोमाञ्‍चक हुने अनुमान गरिएको छ । पछिल्लो समय भएका एकदिवसीय खेलमा अष्ट्रेलिया भारतमाथि बलियो देखिएको छ ।

अष्ट्रेलियाले पछिल्ला पाँच खेलमा विजय हासिल गर्दा भारत दुई खेलमा मात्र विजयी छ । विश्वकपमा यी दुई टोली अहिलेसम्म ११ पटक आमनेसामने भएका छन् । जसमा अष्ट्रेलिया हाबी छ । अष्ट्रेलियाले आठ खलमा र भारत तीन खेलमा विजयी भएको छ ।

१९८३ मा पहिलो पटक विश्वकपमा प्रतिस्पर्धा हुँदा पछिल्लो समय २०१५ को विश्वकपमा भेट भएको थियो । पाँचपटक च्याम्पियन अष्ट्रेलिया विश्वकपमा नयाँ कीर्तिमान बनाउन चाहन्छ भने भारत तेस्रो उपाधि उचाल्ने रणनीतिमा छ ।