काठमाडौं जिल्ला अदालतबाट थुनुवा फरार

काठमाडौं जिल्ला अदालतबाट थुनुवा फरार

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट बधुबार एक जना थुनुवा फरार भएका छन्। म्याद थपका लागि लगिएका ३२ वर्षीय कमल खड्का नाम गरेका थुनुवा फरार भएको स्रोतले जानकारी दियो।

उनी प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा थिए। म्याद थपका लागि अदालत लगिएकोमा अदालतबाटै फरार भएको पाइएको छ। उनी ठगीको कसुरमा पक्राउ परेका थिए। उनी सिन्धुपाल्चोकको बाह्रबिसे–२ घर भइ भक्तपुर बस्दै आएका थिए।

सुरूमा स्वयम्भू वृत्तले उनलाई ठगीको कसुरमा पक्राउ गरेको थियो। स्वयम्भू वृत्तको काम सकिएपछि अर्को ठगी मुद्धामा उनीमाथि प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरेको थियो।

प्रहरीले उक्त घटनालाई गुपचुमा राखेर खोजी कार्य सुरु गरेको छ। फरार थुनुवाका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिए पनि अहिलेसम्म भेटिएको छैन।