कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलका कमला सुनारले खेतबारीमा फलेको अन्न हात्तीबाट जोगाउन निकै संघर्ष गर्दै छिन् । साढे दुई दशकदेखि नेपाल–भारत सीमा बस्तीमा बस्दै आएका सुनारले छोरीका लागि बनाइदिएको घर भत्काएर दुई बोरा धान जङ्गली हात्तीले नाश गरेपछि कसरी छाक टार्ने भन्ने समस्याले चिन्तित छिन् ।
''छोरीले गाउँमै केही गरेर जीविका चलाउँला भनेर टिन हालेर होटल खोलिदिएु, कमलाले भनिन्, ''होटलबाट जीविका चलाउन गाह्रो भएपछि मजदुरीका लागि भारत गएकी छोरीको घरको छानो नै हात्तीले केही दिन अघि भत्काइदियो ।''
नेपाल–भारत सीमास्तम्भ नं ८०० सय नजिक सुनारको घर छ । भारतीय जङ्गलबाट आउने हात्तीको बथानले कमला जस्तै बस्तीका अधिकांश स्थानीय पीडित छन् । 'हरेक दिन राति हात्तीकै त्रासदीले अनिँदो बस्नुपरेको छु, सुनारले भनिन्, ''हात्ती गाउँमा पल्किएर खेतमा मात्रै होइन घरभित्रको अन्नसमेत खान छाड्दैनन् ।'
दोधारा चाँदनी नगरपालिका–३ का वडा सदस्यसमेत रहेका बडुवाल टोलका लक्ष्मी रानाले सीमा बस्तीका स्थानीयले जङ्गली हात्तीबाट प्रताडित हुन थालेको १२ वर्ष बितिसकेको बताइन् । 'दोधारा चाँदनीमा मात्रै केही समययता हात्तीको आक्रमणबाट दुई जनाले ज्यान गुमाइसकेु, वडा सदस्य रानाले भनिन्, ''यो पटक मात्रै बडुवाल टोलमा आठ घर हात्तीले भत्काएका छन् ।' जग्गाधनी पुर्जा नहुँदा वन्यजन्तुबाट ज्यान गुमाउँदा राज्यबाट पाउने क्षतिपूर्तिसमेत नपाएको उनको भनाइ छ ।
भौगोलिकरुपले विकट बडुवाल टोलको पश्चिमतर्फ भारतीय जङ्गल पर्छ । जोगबुढा नदी पारीको बस्ती बडुवाल टोलबाट हात्तीकै त्रासदीले स्थानीय सीता सुनारले १८ कठ्ठा खेत नै बाँझो राखिन् । 'भारतीय जङ्गलबाट आउने हात्तीले अन्नबाली सखाप पार्न थालेपछि खेत नै खाली छोडिदिएु, उनले भनिन्, 'हात्ती नियन्त्रणका लागि सरकारले ठोस कदम नै चालेन ।'
प्रायःबस्तीमा हात्तीको बथान आइरहने बताउँदै उनले हात्ती धपाउन गाउँमा आगो पाल्नेदेखि होहल्ला गर्ने काम गर्नु नै आफूहरुको दैनिकी बनेको सुनारको भनाइ छ । उता वडा सदस्य रानाले हात्तीपीडितका लागि दोधाराचाँदनी नगरपालिकाले रु दुई लाख बजेट विनियोजन गरेर राहत सामग्री वितरण गरिएको बताइन् ।
त्यसैगरी बडुवाल टोलमा रहेको गणेश आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर ओलीले बडुवाल टोलमा स्थानीयले सीमा संरक्षणमा पहरेदारी गरे पनि नागरिकले जिउधनको रक्षामा सरकार गम्भीर नभएको बताए ।
तीन सयभन्दा बढी परिवारको बसोबास रहेको बडुवाल टोलमा अधिकांश पुरुष ज्याला मजदुरीका लागि भारतका विभिन्न सहरमा गएर जीविकोपार्जन गर्दै आएका छन् ।