प्रेमीसँग भाग्न लागेको भन्दै श्रीमतीको हत्या

प्रेमीसँग भाग्न लागेको भन्दै श्रीमतीको हत्या

काठमाडौँ । कास्कीमा श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

प्रहरीले बिहीबार दिउँसो २ बजे पोखरा महानगरपालिका -२९ नौबिसे बस्ने एक पुरूषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी मोहनकुमार थापाले जानकारी दिए। 

पक्राउ पर्नेमा म्याग्दी धौलागिरी गाउँपालिका-७ ताकम घर भएका ३६ वर्षीय रत्नबहादुर घर्ती छन्। उनले आफ्नी २८ वर्षीया श्रीमती रेखा घर्तीको हत्या गरेका हुन् ।

एसपी थापाका अनुसार रेखा रत्नबहादुरकी कान्छी श्रीमती हुन्। उनीहरूका दुई जना बच्चा पनि छन्। पछिल्लो समय श्रीमान-श्रीमतीबीचको सम्बन्ध बिग्रिँदै गएको प्रहरीले जनाएको छ। 

यसरी सम्बन्ध बिग्रिँदै गएपछि रेखाको अर्कै पुरूषसँग प्रेम भएको थियो। अर्कै पुरूषसँग प्रेममा रहेकी रेखा बिहीबार दिउँसो भने प्रेमीसँग भाग्न लागेको थाहा पाएपछि घट्ना घटेको हो ।  रत्नबहादुरले रेखा र उनका प्रेमीलाई लखेटेका थिए। 

लखेटेर नौबिसेको तोरी बारीमा पुगेपछि रत्नबहादुरले रेखालाई भेट्टाएको प्रहरीले जनाएको छ। रत्नबहादुरले जुत्ताको तुना निकालेर रेखाको घाँटीमा कसेर हत्या गरेको एसपी थापाले बताए।

उनका प्रेमी भने भाग्न सफल भएका थिए। रत्नबहादुरलाई पक्राउ गरी उनीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।