धनगढीमा कराँते रेफ्री सेमिनार सम्पन्न

धनगढीमा कराँते रेफ्री सेमिनार सम्पन्न

धनगढी । कैलाली जिल्ला कराँते महासंघ अन्तर्गत रहेको जिल्ला रेफ्री कमिसनको आयोजनामा जिल्ला स्तरीय कराँते रेफ्री सेमिनार तथा रेफ्री परीक्षा मंगलबार धनगढीमा सम्पन्न भएको छ ।

दुई दिने सेमिनारमा नेपाल कराँते महासंघको केन्द्रीय रेफ्री कमिसनका सदस्य अन्तर्राष्ट्रिय रेफ्री प्रकाश कुमार चन्द, सुदूरपश्चिम प्रदेश कराँते महासंघ अन्तर्गतको प्रदेश रेफ्री कमिसनका सचिव अन्तर्राष्ट्रिय रेफ्री हिक्मत बहादुर गुरुङ र बरिष्ठ अन्तर्राष्ट्रिय रेफ्री केशव बहादुर बडूवालले सहभागीलाई प्रशिक्षण दिएका थिए ।

सेमिनारमा कैलाली जिल्ला भित्रका ५२ जना महिला तथा पुरुष कराँते प्रशिक्षकहरू सहभागी थिए ।

जिल्ला रेफ्री कमिसनका संयोजक तथा कराँते प्रशिक्षक आश्रम खत्रीको सभापतित्वमा मंगलबार धनगढी स्थित बहुउद्देश्यीय कभर्ड हलमा सम्पन्न समापन तथा प्रमाणपत्र वितरण समारोहका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य लक्ष्मी बि.क.ले  निर्णायकहरुलाई प्रमाणपत्र वितरण गरेकी थिइन् । 

कार्यक्रममा सुदूरपश्चिम प्रदेश कराँते महासंघका अध्यक्ष त्रैलोक्यनाथ पाण्डेय, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सन्तोष बि।क। कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष ललित खत्री,कार्यालय प्रमुख दीपकबहादुर सिंह, कैलाली जिल्लाका पुराना अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी यज्ञराज भण्डारी लगायत खेलकुद सँग सम्बद्ध व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि माननीय लक्ष्मी विकले प्रदेशका सबै जिल्लाहरूमा खेलकुदलाई समान रुपमा अगाडी बढाउन आफूले प्रदेश खेलकुद ऐन तथा नियमावली सच्याउन पहल गर्ने प्रतिबद्धता गरिन । 

कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष ललित खत्रीले सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को असहयोगका बाबजुद पनि आफू अध्यक्ष भएपछि कैलाली जिल्ला सधैँ प्रथम स्थानमा रहेको बताए ।