भूकम्पपछि त्रिपालमा बस्ने महिलाहरू असुरक्षित

भूकम्पपछि त्रिपालमा बस्ने महिलाहरू असुरक्षित

काठमाडौं । भूकम्पपछि त्रिपालमा बस्दै आएकी जाजरकोटकी एक किशोरीमाथि बलात्कार भएको छ । त्रिपालमा बस्दै आएकी २१ वर्षकी किशोरीमाथि कात्तिक २६ गते राति साढे ८ बजे बलात्कारको घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

शौचालय गएकी किशोरीलाई फर्किंदै गर्दा नलगाड नगरपालिका–१ का २१ वर्षका गोपाल वादीले बलात्कार गरेको भन्दै किशोरीको तर्फबाट जिल्ला प्रहरी कार्यालय जाजरकोटमा मुद्दा दायर भएको थियो । गोपाल पनि त्रिपालमा बस्दै आएका थिए ।

प्रहरीले कात्तिक २७ गते मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो । बलात्कारको घटना भएको मौखिक जानकारीपछि प्रहरी तत्कालै घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए । २८ गते गोपाललाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । मंसिर १७ गते गोपाललाई जिल्ला अदालत जाजरकोटले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

भूकम्पपछि त्रिपालमा बस्दै आएका महिलाहरू दुव्र्यवहारमा पर्ने डरमा छन् । एकातिर ठिहिर्‍याउने जाडो, अर्कोतिर दुव्र्यवहारमा परिने हो कि भन्ने डर उनीहरूलाई छ । रातिको समयमा एक्लै शौचालयका लागि बाहिर निस्किन पर्दा डर लाग्ने गरेको महिलाहरू बताउँछन् । नलगाड नगरपालिका–१ की प्रतीक्षा महरका श्रीमान् श्रीमती र बालबालिकालाई छोडेर काममा पनि जान सकेका छैनन् । पालको बसाइ असुरक्षित भएकोले श्रीमान् कामका लागि काठमाडौं फर्किन नसकेको उनले बताइन् । उनी भन्छिन्, ‘पालमा डरै–डरैले बस्नुपर्छ । सबैभन्दा बढी डर त मान्छेहरूकै हुन्छ । कहिलेकाहीँ कामले गर्दा श्रीमान् सँगै हुनुहुन्न ।’

पालमा बसेका महिला र बालबालिका असुरक्षित छन् भन्ने महसुस भइरहेको वडाध्यक्ष धनबहादुर महरा बताउँछन् । भूकम्पपछि सबै त्रिपालमै बस्ने भएकोले महिलाहरू असुरक्षित भएका उनले बताए । उनी भन्छन्, ‘यो वडामा बसोबास गर्ने धेरै कृषक छन् । कमाइका लागि केही महिना भारत जाने केही महिना घरमा बस्नेहरू छन् । अहिले कोही कतै जान पाएका छैनन् । सबै घरमै छन् । महिलाहरू असुरक्षित छन् ।’

३ छोरीसँगै त्रिपालमा बस्नपर्दा असुरक्षित महसुस हुने गरेको भेरी नगरपालिका–३ रावत गाउँकी नन्दकला विकले सुनाइन् । ढोकाबिनाको त्रिपालमा जसले जे पनि गर्न सक्ने डर हुन्छ । उनले भनिन्, ‘हाम्रै कारणले रोजगारीका लागि श्रीमान् बाहिर जान सक्नु भएको छैन । रक्सी खाएर वरिपरि हल्लाखल्ला गरिरहेका हुन्छन् । आफू कसरी जोगिने र छोरीहरूलाई कसरी जोगाउने भन्ने चिन्ता हुन्छ ।’

परिवारभन्दा पालमा बस्ने एकल महिलाहरूलाई अझै समस्या छ । पालमा डरै डरले १६ वर्षकी छोरी र आफू मात्र बस्ने गरेको ४२ वर्षकी सीता परियारले बताइन् । ‘घरमा अरु कोही नभएकोले मलाई र छोरी रातभरि निदाउनै सक्दैनौं । रातभरि बाहिर मान्छेहरु हिँडिरहेका हुन्छन् । पालभित्र पस्छन् कि भन्ने डर लाग्छ । कसैले केही नराम्रो व्यवहार गर्छ कि भन्ने चिन्ता हुन्छ,’ उनले भनिन् ।

त्यसो त पछिल्लो समय प्रहरीले सुरक्षा व्यवस्थापनमा ध्यान दिएको दाबी गरेको छ । महिलामाथि दुव्र्यवहार हुन नदिन प्रहरीले निगरानी बढाएको सूचना अधिकारी विश्वकर्मा बताउँछन् । प्रहरीको गस्ती टोली पनि प्रभावित क्षेत्रमा पुग्ने गरेको उनी बताउँछन् । भूकम्प प्रभावित क्षेत्रबाट सामान्य सूचना आउँदा पनि प्रहरीले गहिरो अनुसन्धान गर्ने गरेको उनको भनाइ छ ।

भूकम्प प्रभावित क्षेत्रमा महिलामाथि हिंसामा घटना हुन सक्ने भन्दै प्रहरी चनाखो बनेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख डीआईजी भीमप्रसाद ढकाल बताउँछन् । पालमुनि बस्दै आएकाहरूमा महिला स्वभाविक रूपमा असुरक्षित छन् । उनले भने,‘हामीले केही समयअघि १६ दिने महिला हिंसाको अभियान पनि जाजरकोटको बढी भूकम्प प्रभावित क्षेत्र नलगाड नगरपालिकाबाटै सुरु गरेका हौं । प्रहरीले सुरक्षा सचेतना कार्यक्रम पनि गरिरहेको छ । प्रभावित बस्तीमा पुगेर सुरक्षाका टिप्स पनि दिने गरेको छ । योसँगै गस्ती बढाएर सुरक्षा निगरानी गरिएको छ ।’ सुरक्षासम्बन्धी प्रहरीमा आएका गुनासालाई तत्काल सम्बोधन गर्ने कार्य पनि गरिरहेको उनले बताए । भूकम्प प्रभावित क्षेत्रका प्रत्येक पालमा पुगेर प्रहरीले उनीहरूको आत्मबल बढाउने काम पनि गरिरहेको ढकालले बताए ।

कान्तिपुर दैनिकबाट