ठेकेदारका कारण पुल निर्माण अलपत्र

ठेकेदारका कारण पुल निर्माण अलपत्र

बझाङ । सेती लोकमार्ग अन्तर्गत खप्तडछान्ना गाउँपालिकामा निर्माण गर्ने भनिएका दुई वटा पक्की पुल निर्माण कार्य अलपत्र परेको छ । ठेकेदार कम्पनीको लापरबाहीका कारण खप्तडछान्ना–१, कुचेखोला (कलिपछाई) र खप्तडछान्ना–७, गडरायमा निर्माण हुने भनिएका पुलको निर्माण कार्य अलपत्र परेको हो ।

उक्त पुल निर्माण कार्य सुरु भएको पाँच वर्ष बितिसकेको छ । २०७५ सालमा टेन्डर आह्वान भएर काम सुरु गरेको केही समय नबित्दै निर्माण कम्पनी फरार भएको गुनासो स्थानीयवासीको छ । 

खप्तडछान्ना–७ मा पर्ने बिजाडी गाडमा बन्न लागेको पक्की पुलको काम अन्तिम चरणमा भए पनि ठेकेदार स्थानीयवासीको पैसा खाएर फरार भएको बताइएको छ ।  पुल निर्माणको जिम्मा लिएका ठेकेदार स्थानीयको करिब ७० लाख रुपियाँ रकम नदिएर भागेको स्थानीय ज्ञानबहादुर रोकायाले बताए। ठेकेदारले मजदुरको समेत ज्याला नदिएको गुनासो उनले भने । 

‘यहाँका स्थानीय मजदुरले अहिलेसम्म मजदुरी गरेको ज्यालासमेत पाएका छैनन्’ उनले भने, ‘गिट्टी कुटेको, बालुवा बोकेको, बिहान बेलुका खाइनखाई मजदुरी गरेका कसैले पनि पाँच वर्ष बितिसक्दासम्म ज्याला पाएका छैनन् ।’ ठेकेदारले काम चलाउनका लागि स्थानीयवासीबाट लिएको सापटी रकमसमेत फिर्ता नदिएको उनले बताए । पुल निर्माणको ठेक्का अमर कन्स्ट्रक्सनले लिएको हो । 

स्थानीय मजदुरको रकम फिर्ता गर्न र पुल निर्माण कार्य सञ्चालन गर्न विभिन्न निकाय धाए पनि ठेकेदार सम्पर्कमा नआएको स्थानीय जनप्रतिनिधिले बताएका छन् । बालुवा र गिट्टी ओसारेको ट्याक्टरको तीन लाख र ट्रकबाट धनगढीबाट सामान ढुवानी गरेको १२ लाख रुपियाँ रकम नपाएको स्थानीय वीरबहादुर रोकायाले बताए।  २०७८ सालमा पुलको ढलान बाढीले बगाएका कारण काम ढिलो भएको र आफूले काम गर्न खटाएको प्रतिनिधिले स्थानीयबाट रकम लिएर भागेको अमर कन्स्ट्रक्सनका सञ्चालक भद्र शाहीले स्वीकारे ।

‘२०७८ सालमै काम सकिने थियो, बाढीले ढलान बगाइदियो, त्यसपछि कार्यालय (सेती लोकमार्ग) ले ठेक्काको म्याद थप्ने कुरामा समस्या गरेकाले ढिलो भयो,’ उनले भने, ‘त्यहीबिचमा काम गर्न पठाएको मान्छेले पैसा खाएर भागेछ । सबै समस्या एकै पटक परेकाले निर्माण कार्यमा त्यस्तो भएको हो,’ शाहीले भने, ‘हालसम्म एक करोड ९० लाख मात्रै भुक्तानी पाएको हो । म्याद थपको प्रक्रिया अघिबढेको र केही दिनभित्रै काम सुरु हुने आश्वासन पनि दिनुभयो ।’ 

यस्तै खप्तडछान्ना–१ र २ मा निर्माण हुन लागेको कालिपछाईको पक्की पुल निर्माण पनि अलपत्र अवस्थामा छ । सो पुलको निर्माण गर्ने जिम्मा राईमाझी द क्यारावान निर्माण सेवाले पाँच करोड रुपियाँ लागतमा पाएको थियो ।  २०७८ साल कात्तिकमा आएको बाढीले उक्त पुलको निर्माणस्थल नै बगाएर तहस नहस पारेको थियो । त्यो बेलादेखि ठेकेदार कम्पनी सम्पर्कविहीन रहेको यहाँका स्थानीयको गुनासो छ । अहिले पनि खोला एकतिर र निर्माणाधीन पक्की पुल अर्कोतिर अलपत्र अवस्थामा छ ।

सो पुल निर्माणको काम गर्न निकै कठिन छ ।  गाउँपालिका अध्यक्ष उत्तमबहादुर रोकायाले सेती लोगमार्गका कार्यालय प्रमुखसँग सम्पर्क गरेर मजदुरको रकम असुली फिर्ता गर्न,  पक्की पुल अलपत्र परेको विषयमा मौखिक र लिखित रूपमा जवाफ माग गरिएको बताए।  उनले यस सम्बन्धमा सरोकार राख्ने निकायलाई जानकारी गराउँदै आए पनि कुनै सुनुवाइ नै नभएको बताए । पुल निर्माण कार्यका लागि पालिकालाई नियमन गर्ने कुनै कानुनी अधिकार नभएको बताउँदै उहाँले आफूहरू काम गर्ने वातावरण बनाइदिनका लागि तयारी अवस्थामा रहेको बताए ।

सेती लोगमार्ग अन्तर्गत (चैनपुर ताक्लाकोट सडक आयोजना) कार्यालय प्रमुख तुलाराम शर्माले दुइटै पुलको निर्माण कार्य केही दिनमा सुरु हुने बताए। आर्थिक अधिकारसमेत नआएकाले केही समस्या भएको र ठेकेदार कम्पनीसँग सम्र्पक गरेर एक हप्ताभित्र काम गर्न निर्देशन दिएको जानकारी दिए । यसै आर्थिक वर्षभित्र दुई वटै पुलको निर्माण कार्य पूरा गरिने उनको भनाइ छ ।