भ्रष्टाचार मुद्दामा सुदूरपश्चिमका पूर्व डिआइजी शाह दोषी ठहर

भ्रष्टाचार मुद्दामा सुदूरपश्चिमका पूर्व डिआइजी शाह दोषी ठहर

धनगढी । नेपाल प्रहरीका पूर्व डीआईजी तथा साहित्यकार महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रितेन्द्र थापासहितको इजलासले बुधबार शाहसहित ४ जनालाई हानी नोक्सानी सम्बन्धी भ्रष्टाचारमा दोषी ठहर गरेको हो । सजाय निर्धारण हुन भने बाँकि छ ।

प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा २०७२ सालमा उनले नक्कली नाम बनाएर कर्मचारीको तलब, रासन बुझी राज्यकोषबाट लाखौं ठगी गरेको भन्दै उनीविरुद्ध विशेष अदालतमा चार वर्ष अघि २०७६ साल फागुन २० गते भ्रष्टाचारको मुद्दा दायर भएको थियो ।


उक्त प्रकरणमा लेखापाल एवम् पूर्व प्रहरी नायव निरीक्षक दिपेन्द्रप्रसाद पनेरुलाई पनि विशेष अदालले दोषी ठहर गरेको विशेष अदालतका उपरजिस्ट्रार एवम प्रवक्ता धनबहादुर कार्कले जानकारी दिए । उनका अनुसार आरोप लागेका प्रहरी हवल्दार केशवसिंह ऐरी र लेखापाल सञ्जीव विशुंखेले भने सफाइ पाएका छन् ।

यससँगै विशेष अदालतले अब उनीहरूविरुद्धको सजाय निर्धारणका लागि पेश गर्न पनि आदेश दिएको प्रवक्ता कार्कीले बताए । २०७२ असोज २२ देखि २०७३ माघ २३ सम्म तालिम केन्द्रको समादेशक बनेका उनले तालिमे जवानको तलबमा हिनामिना गरेको आरोप लागेपछि प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत प्रहरी निरीक्षणालयका एसएसपीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

छानबिन समितिले अध्ययनपछि भ्रष्टाचार गरेको तथ्यसहितको प्रतिवेदन तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बुझाएको थियो । अख्तियारले उनीहरूविरुद्ध ३३ लाख ३८ हजार ८४ रुपैयाँ ८८ पैसा विगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको जनाइएको छ । महेशविक्रम शाह नेपाली साहित्यकार पनि हुन् । उनका ‘ज्याक्सन हाइट’, ‘अफ्रिगन अमिगो’, ‘सिपाहीकी स्वास्नी’, ‘काठमान्डुमा कामरेड’ र भुइँखाटु कथा सङ्ग्रह प्रकाशित छन् । उनको कथा सङ्ग्रह ‘छापामारको छोरो’को लागि उनले विसं २०६३ को मदन पुरस्कार पाएका थिए ।