एकै रातमा तीन वटा सुन पसलमा चोरी

एकै रातमा तीन वटा सुन पसलमा चोरी

विराटनगर । मोरङको बेलबारीमा एकैरातमा तीन वटा सुन पसलमा चोरी भएको छ । मंगलबार राति बेलबारी नगरपालिका– १ मा रहेका तीन वटा सुनपसलमा चोरी भएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार  पसल फोडेर चोरी भएको देखिन्छ । चोरीमा संलग्नको खोजी भइरहेको उनले बताए ।

बेलबारी–१ स्थित नेत्रप्रसाद दाहालको घरमा डेरा गरेर बस्ने छत्रबहादुर विकले सञ्चालन गरेको न्यू बराइली ज्वेलर्स एण्ड कारखाना, ईश्वरी चौलागाईंको घरमा डेरा बस्ने रत्नमाया सुनार र किरण सुनारले सञ्चालन गरेको नवरत्न ज्वेलर्स र कुलबहादुर दर्नालले सञ्चालन गरेको न्यू वराह ज्वेलरीमा एकैरात चोरी भएको हो ।

न्यू बराइली ज्वेलर्सबाट चाँदीको बुटी १०० वटा (अन्दाजी २५ तोला), तामाको बुटी १०० वटा ९अन्दाजी ३ सय ग्राम० र ४ आनाको सुनको पोते चोरी भएको छ ।

नवरत्न ज्वेलर्सबाट करिब एक किलो बराबरको सुन र चाँदीका सामग्री तथा गहना चोरी भएको छ । ज्वलेर्सबाट ४ आनाको सुनको जन्तर, १ तोला ५ आना काँचो सुन तथा चाँदीका सिक्री, ब्रासलेट, पाउजू, औंठी, बुटिकका सामग्री, करुवा, दियो, चम्चा, चुरा, कल्लीसमेत चोरी भएको छ ।

कुलबहादुर दर्नालले सञ्चालन गरेको न्यू वराह ज्वेलरीबाट ११ किलो बराबरको चाँदीबाट बनेका गहना र सामग्री चोरी भएको छ ।

चाँदीबाट बनेको खड्कुँलो, करुवा, गाग्री, थाली, बटुका, चुरा, पाउजू, कल्ली, कम्मर बेल्ट, औंठी, बिच्छी, लकेट, ब्रासलेटलगायत चोरी भएको प्रहरीले बताएको छ ।

डीएसपी दाहालका अनुसार घटनाको प्रकृति हेर्दा एउटै समूहले चोरी गरेजस्तो देखिन्छ । घटनास्थल वरपर रहेका सीसी क्यामेराको अध्ययन गरेर चोरीमा संलग्नको खोजी भइरहेको उनले बताए ।