बालविवाह रोक्ने प्रतिवद्धताः ६० वडामा रूपान्तरण कक्षा सञ्चालन

बालविवाह रोक्ने प्रतिवद्धताः ६० वडामा रूपान्तरण कक्षा सञ्चालन

अत्तरिया । कैलालीको गोदावरी नगरपालिकाका जनप्रतिनिधिले बालविवाह रोक्ने प्रतिवद्धता व्यक्त गरेका छन । बढ्दै गएको बालविवाह रोक्नका लागि नगरका जनप्रतिनिधिहरूले प्रतिवद्धता गरेका हुन । २०३० सम्ममा नेपालबाट बालविवाह निवारण गर्ने लक्ष्य लिए अनुसार गोदावरीमा पनि बालविवाह निवारणका लागि कार्यक्रम सञ्चालन भएको छ । जसका लागि हाल नगरका ६ वटा वडामा रूपान्तरण कक्षा सञ्चालन गर्ने देखि लिएर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालनमा रहेका छन ।

नगरपालिकाले निड्स नेपालको बालविवाह निवारण परियोजना सँग सहकार्य गरेर बालविवाह रोक्न काम गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले बताए । उनले नगरबाट पनि बिभिन्न नीति बनाएर बालविवाह रोक्नको लागि चालु आर्थिक वर्षमा काम भइरहेको बताए । उनले मुलुकी अपराध सहिता २०७४ मा पनि बालविवाह गरेमा स्वतः बदर हुने व्यवस्था रहेको र कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद र तीस हजार रुपैयाँ सम्म जरिवानाको व्यवस्था रहेको बताए ।

उनले बालबालिकाको अधिकारबारे सचेतना वृद्धि सँगै कानूनी र नीतिगत सुधार, राष्ट्रिय तथा स्थानीय सञ्जाल विकास भएपनि यी विषय सबैको पहुँचमा नपुग्नु मुख्य चुनौती रहेको बताए । अझै पनि परम्परागत चलन, अशिक्षा, देखासिखी, आर्थिक पछौटेपन, मायापिरतीका कारण बाल विवाह हुने गरेको उनले बताए । उनले बालविवाह रोक्नको लागि विभिन्न संघ सस्थाहरु सँग सहकार्य गरेर नगरपालिका अगाडि बढिरहेको बताए ।

नगरपालिकाको महिला तथा महिला तथा बालबालिका शाखाकी प्रमुख गोदावरी खत्रीले नगरपालिकाले बिभिन्न नीति बनाएर काम गरिरहेको बताइन् । उनले नगरमा बालक्लब सञ्जाल गठन तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७७, बाल संरक्षण नीति २०७८, बाल अधिकार संरक्षण तथा सम्वर्द्धन कार्यविधि २०७८ तयार गरिएको बताइन् । उनले नगरपालिकामा निड्न नेपाल मार्फत पनि बालविवाह निवारणका लागि कार्यक्रम सञ्चालन रहेको बताइन् ।

सुदूरपश्चिममा सञ्चालित निड्स नेपालको बालविवाह निवारण परियोजना संयोजक टेक विकले बाल विवाह निवारणका लागि हाल गोदावरीका ६ वटा वडामा कार्यक्रम सञ्चालन भइरहेको बताए । उनले प्रत्येक वडामा सहजकर्ता छनोट गरेर कार्यक्रम सञ्चालन भइरहेको बताए । ‘नेपाल सरकारको २०३० सम्म बालविवाह निवारण गर्ने लक्ष्यलाई पुरा गर्न कार्यक्रम सञ्चालन गरिएको छ’ उनले भने  ‘कार्यक्रम मार्फत बालबालिका सशक्तीकरण, बालविवाह निवारण गरिने छ । कार्यक्रम गोदावरीका ६ वटा वडामा फोकस भएर सञ्चालन भएको छ ।’ उनले वडामा सहजकर्ता मार्फत रूपान्तरण कक्षा सञ्चालन गरिदै आएको बताए । जसका लागि प्रत्येक हप्ता २ दिन कक्षा सञ्चालन गरिदै आएको उनले बताए ।

बालविवाह निवारण परियोजना सुदूरपश्चिमका चार जिल्ला बझाङ, अछाम, कैलाली र कञ्चनपुर गरी १० पालिकामा सञ्चालन रहेको संयोजक विकले बताए । उनले सुदूरपश्चिमका १० पालिकाका ६० वडामा रूपान्तरण कक्षा सञ्चालन गर्नका लागि ६० जना सहजकर्ता छनोट गरेर परिचालन गरिएको बताए । जसअन्तरगत प्रत्येक वडाको एक विद्यालयबाट ३० विद्यार्थी छनोट गरेर कक्षा सञ्चालन भइरहेको उनले बताए ।

उनले बालविवाह निवारण लागि सामाजिक व्यक्तित्व सँगै धामीझाँक्री परिचालन गर्ने कार्यक्रम पनि सञ्चालनमा रहेको बताए । ‘कार्यक्रम स्थानीय तहहरू सँग समन्वय गरेर अगाडि बढिरहेको छ । परियोजनाले बालबालिकालाई विद्यालयमा जोड्ने काम पनि गरेको छ’ उनले भने ‘अहिले बालविवाहको अवस्था निकै भयावह रहेको छ । जसको न्यूनिकरण लागि स्थानीय स्तरमै कार्यक्रम सञ्चालन गरिरहेका छौ ।’

परियोजना अन्तरगत आइतबार गोदावरी नगरपालिकामा बालविवाह निवारणका लागि स्थानीय तहको प्रतिबद्धताका विषयमा पैरवी कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सहभागि जनप्रतिनिधि, नगरपालिकाका कर्मचारीले सबै खाले बाल हिंसा, बालश्रम, बालविवाह निवारण गर्नको लागि स्थानीय तहबाट प्रतिवद्धता गरेका थिए ।