साँढे पाँच वर्ष हाकिम भएका कार्कीलाई बर्दगोरियाबाट बिदाइ

साँढे पाँच वर्ष हाकिम भएका कार्कीलाई बर्दगोरियाबाट बिदाइ

बर्दगोरिया । प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्कीको बर्दगोरिया गाउँपालिकाबाट बिदाइ गरिएको छ । गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरले सेवा निवृत्त भएका कार्कीलाई बिदाइ गरेका हुन् । 

आइतबार बर्दगोरिया गाउँपालिकाको  कार्यालयमा आयोजित एक कार्यक्रमबिच अध्यक्ष कर्ण बहादुर कुँवर र उपाध्यक्ष गणेश राज गिरिले मायाको चिनो, कदर पत्र र दोसल्ला ओढाएर प्रमुख प्रशासकीय अधिकृत कार्कीको बिदाइ गरेका हुन् ।

बिदाइ कार्यक्रममा बोल्दै अध्यक्ष कर्ण बहादुर कुँवरले प्रमुख प्रशासकीय अधिकृत कार्कीको कार्यकालको प्रशंसा गरेका थिए । उनले आगामी दिनमा सल्लाह सुझाव सहित सहयोग जारी राख्न आग्रह गर्दै करिब ५ वर्ष ७ महिना प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्दा कार्कीको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

त्यस्तै पालिका उपाध्यक्ष गणेश राज गिरि, पूर्व अध्यक्ष बलिराम चौधरी, पूर्व उपाध्यक्ष भगवती देवी डगौरा थारु, वडा नम्बर १ का अध्यक्ष तथा प्रवक्ता मिथुन गौतम , कर्मचारी अधिकृत झपिराज ओझा, कृष्ण देव जोशी, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द राज रेग्मी लगायतकाले प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्कीले बर्दगोरिया गाउँपालिकालाई विकसित गाउँपालिकाका रूपमा अगाडी बढाउन  महत्त्वपूर्ण काम गरेको भन्दै प्रशंसा गरेका थिए । 

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्कीले आगामी दिनमा पालिकालाई अझ विकासका दृष्टि कोणले नमुना भएको हेर्न चाहेको बताउँदै सबैको साथ सहयोगले लामो समय बस्न सकिएको भन्दै सबैलाई धन्यवाद व्यक्त गरे । 

साथै प्रमुख प्रशासकीय अधिकृत कार्कीले पालिकालाई नमुना बनाउन आफूले जानेका काम कर्तव्य र अधिकारका बारेमा  समन्वय गरिरहने प्रतिबद्धता समेत गरेका छन् । 

पालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर मिति २०७५ साल वैशाख २३ गते देखि हाल सम्म जिम्मेवारी सम्हाल्न सहजता प्रदान गरेकोमा कार्कीले पालिका अध्यक्ष ,उपाध्यक्ष ,पूर्व अध्यक्ष पूर्व उपाध्यक्ष लगायत सम्पूर्ण जनप्रतिनिधिहरू प्रति आभार व्यक्त गरे ।