छोरी जन्मिए नगरपालिकाको पाँच हजार रुपैयाँ उपहार !

छोरी जन्मिए नगरपालिकाको पाँच हजार रुपैयाँ उपहार !

काठमाडौँ । स्याङ्जाको गल्याङ नगरपालिकाले छोरी जन्मिए पाँच हजार रुपैयाँ उपहार दिन सुरु गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा व्यवस्था गरिएको ‘नगरकी छोरी’ कार्यक्रममार्फत नगरभित्र छोरी जन्मिए पाँच हजार रुपैयाँ दिन सुरु गरेको हो ।

अहिले नगरपालिकाले ११ वटा वडामा ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । नगरपालिका भित्र छोरी जन्मिए नगरपालिकाले गरिमा विकास बैंकमा खाता खोलिदिने र खातामा ५ हजार रुपैयाँ पनि जम्मा गरिदिने गरेको नगर उपप्रमुख हेमा न्यौपानेले बताएकी छिन् ।

गल्याङ नगरपालिकाले गल्याङ-६ मा एक महिलाले छैटौं छोरीका रुपमा जन्म दिएकी नवजात शिशुको नाममा खाता खोलेर ‘नगरकी छोरी’ कार्यक्रमको सुरुवात गरेको छ । नगरपालिकाका अनुसार उक्त रकम छोरीको उमेर १८ वर्ष नपुग्दासम्म झिक्न पाइनेछैन ।

छोराछोरीबीचको विभेद अन्त्यका साथै छोरी जन्मिएसँगै बचत गर्ने बानीको विकास गर्न उत्प्रेरित गर्ने उद्धेश्यका साथ ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयनमा ल्याएको नगरपालिकाले जनाएको छ ।