दल र बुद्धिजिवीको मतभेदका कारण मेडिकल कलेज सञ्चालनमा समस्या छः नेता पाण्डे

दल र बुद्धिजिवीको मतभेदका कारण मेडिकल कलेज सञ्चालनमा समस्या छः नेता पाण्डे

धनगढी । सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य बद्री पाण्डेले राजनीतिक दल र केही बुद्धिजिवीको मतभेदका कारण गेटा मेडिकल कलेज सञ्चालन हुन नसकेको बताएका छन् ।

नेपाल प्रेस युनियन कैलाली शाखाले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पाण्डेले यस क्षेत्रका दल र बुद्धिजिवीमा एकता कायम नहुँदा मेडिकल कलेज सञ्चालनमा अडचन भइरहेको बताएका हुन् ।

‘गेटा मेडिकल कलेज मैले गर्दा बन्दैछ भन्ने होडबाजी छ’ उनले भने –‘एक आपसमै फरक–फरक धारणा र बिचार प्रकट भइरहेका छन् । जसका कारण मेडिकल कलेज सञ्चालनमा ल्याउनुभन्दा अल्झाउने कार्य भइरहेको छ ।’

उनले मेडिकल कलेज सम्बन्धी ल्याउन लागेको ऐनको मस्यौदा अन्य विश्वविद्यालयमा रहेका प्रावधान सरह रहेको बताउँदै –‘मेडिकल विश्वविद्यालयका लागि छुट्टै ऐन ल्याउनुपर्ने हो तर, यो ऐनपनि अन्य विश्वविद्यालयमा रहेका व्यवस्थानै कायम गरिएको छ ।’ उनले ऐन बन्ने वित्तिकै मेडिकल कलेज सञ्चालनमा आउने विश्वास नलग्न अनुरोध गर्दै –‘विद्येयक बन्दैमा कार्यान्वयन जान्छ भन्ने हुँदैन् । ऐन बनिसकेपछि बोर्ड टाँस्नुपर्ने थियो । भौतिक पूर्वाधार तयार छ तर, ती संरचना प्रयोगविहिन हुँदा मर्मत हुन सकिरहेको छैन् ।’

उनले गेटामा तत्काल तीन सय शैय्याको अस्पताल सञ्चालनमा ल्याउनुपर्ने बताए ।

नेता पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अब एक वर्षको समयसीमा मात्रै रहेको बताउँदै ‘गठबन्धनमा भएको सहमति अनुसार प्रचण्डसँग एक वर्ष मात्रै समय रहेको छ । हामीलाई आधिकारिक जानकारी त दिइएको छैन, तर, सुन्नमा आए अनुसार प्रचण्डलाई दुई वर्षको समय छ । अब एक वर्ष मात्रै उहाँसँग छ । अझै तदारुकताका साथ अगाडी बढ्नु पर्छ ।’

उनले पहिलो चरणमा भएको सहमति कार्यान्वयन गर्नु पर्नेमा जोड दिए । ‘प्रचण्ड, माधव कुमार नेपाल र शेरबहादुर देउवा बिच सहमतिको आधारमा प्रधानमन्त्री बन्ने सहमति भएको सुनेका छौँ’ उनले भने ‘माधव नेपाललाई पनि आश्वासन दिइएको थियो भने बन्न दिनु पर्छ शेरबहादुर देउवा पनि बन्नु पर्छ ।’

वर्तमान सरकारका ठुला काण्ड सुन्न नपरेको बताउँदै उनले त्यसलाई उपलब्धिका रूपमा चित्रण गरढे । उनले अघिल्लो कार्यकालमा प्रधानमन्त्री रहेका केपी ओलीबाट ठुलो काण्डहरू भएको आरोप लगाए ।
‘अहिले ठुला काण्ड सुन्नु परेको छैन । प्रधानमन्त्री र मन्त्रीले काण्ड गरेको सुन्न परेको छैन’ उनले भने, ‘केपी ओली प्रधानमन्त्री काण्ड भएको बेला धेरै सुनियो । अहिले एनसेलकाण्ड बाहेक अरू छैन । यसलाई पनि व्यवस्थापन गर्ने गरी काम गरिरहेको छ ।’

अहिले अर्थतन्त्रमा केही सुधार भए पनि अरू सूचकहरूमा परिवर्तन आउन नसकेको उनको भनाइ थियो । पुँजीगत खर्च अझै बढ्न नसकेको उनले बताए । उनले सरकारले एक वर्षको यो ठाउँमा उभिँदा गम्भीर समीक्षा गर्नु पर्नेमा जोड दिए । उनले अहिले मन्त्री हेरफेर गर्ने विषय उपयुक्त नभएको बताए ।

‘मन्त्री फेर्ने कुरा उचित होइन । तीन पटक प्रधानमन्त्री फेर्ने भनेको छ तीन पटक प्रधानमन्त्री फेर्दा मन्त्री ६ पटक फेर्ने कुरा ठिक भएन । प्रधानमन्त्री फेर्दा मन्त्री बदलिने कुरा ठिक हो’ उनले भने ।