महिलाको नाममा फेक आईडी बनाई रकम ठगी गर्ने ३ जना पक्राउ

महिलाको नाममा फेक आईडी बनाई रकम ठगी गर्ने ३ जना पक्राउ

चितवन । महिलाको नाममा नक्कली फेसबुक आईडी खोली रकम ठगी गरेको आरोपमा तीन जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका-१३ का २० वर्षीय प्रवेश रिमाल, कास्की पोखरा महानगरपालिका-२९ बस्ने २२ वर्षको अनुराग घिमिरे र सिराहा लाहान नगरपालिका-१ का १९ वर्षीय युनिक सिंह रहेका छन् ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार बुधबार चार वटा मोबाइल फोन सेट र ७६ हजार रूपैयाँ नगदसहित उनीहरूलाई भरतपुरबाट नियन्त्रणमा लिइएको हो ।
महिलाको नाममा उनीहरूले फेक अकाउन्ट बनाएर पुरुषहरूलाई साथी बनाउने र भिडिओ च्याटमा कुराकानीसँगै अश्लील भिडिओ तथा फोटो बनाएर ब्ल्याकमेलिङ गरेको भन्ने आरोपमा उनीहरूमाथि अनुसन्धान भइरहेको डीएसपी पण्डितले जानकारी दिए ।