कोरोनाकालीन संरचना प्रयोगविहीन

कोरोनाकालीन संरचना प्रयोगविहीन

धनगढी । कोरोना महामारी नियन्त्रणका लागि बनेका संरचना प्रयोगविहीन भएका छन् । सेती प्रादेशिक अस्पतालमा बनेको कोरोना अस्थायी अस्पताल र बडहरामा रहेको होल्डिङ सेन्टर महामारी हटेसँगै प्रयोगमा आएका छैनन् ।

कोरोना सङ्क्रमितको उपचारका लागि प्रदेश सरकारको लगानीमा सेती प्रादेशिक अस्पतालमा ५० शय्याको अस्थायी अस्पताल निर्माण गरिएको थियो । महामारीका बेला कैयौँ बिरामीको जीवन बचाएको कोरोना अस्थायी अस्पताल आफैँ बिरामी जस्तै भएको छ ।

अहिले अस्थायी अस्पताल यत्तिकै रहेको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर शेरबहादुर कमरले बताए। ‘अहिले कोरोना नरहेकाले अस्पताल यत्तिकै छ,’ उनले भने, ‘अस्पताल खाली रहेकाले त्यसलाई स्टोरका रूपमा उपयोग गरिरहेका छौँ ।’

धनगढी उपमहानगरपालिका–३, बडहरामा बनेको एक हजार शय्याको होल्डिङ सेन्टर पनि सोही अवस्थाबाट गुज्रिरहेको छ । सङ्घीय सरकारको २८ करोड ८१ लाख १२ हजार रुपियाँ लगानीमा होल्डिङ सेन्टर बनेको हो ।

गौरीफन्टा नाका भएर फर्किने सङ्क्रमितलाई राख्ने उद्देश्यका साथ २०७८ सालमा यो होल्डिङ सेन्टर बनाइएको थियो । होल्डिङ सेन्टरमा २२ वटा क्वारेन्टाइन, २२ वटा चर्पी र १५ वटा डाइनिङ हलसहितको भान्साकोठा रहेका छन् ।

होल्डिङ सेन्टरको नाममा बनेको संरचना कुन प्रयोजनका लागि प्रयोग गर्ने वा के गर्ने विषयमा टुङ्गो लाग्न नसकेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए। होल्डिङ सेन्टरको रेखदेख भने नेपाली सेनाले नै गर्दै आएको छ ।