चीन ‘फाइभ–जी’ युगमा प्रवेश

चीन ‘फाइभ–जी’ युगमा प्रवेश

मोबाइल टेक्नोलोजीमा पछिल्लो पुस्ताको प्रविधि ‘फाइभ–जी’ मार्फत् सेवा सञ्चालन गर्न चीनले चारवटा सेवा प्रदायकलाई लाइसेन्स प्रदान गरेको छ।

योसँगै चीन फाइभ—जी युगमा प्रवेश गरेको छ। फाइभ जी प्रविधिको व्यापार लाइसेन्स प्राप्त गर्नेहरुमा चाइना मोबाइल, चाइना युनियन, चाइना टेलिकम र चाइना ब्रोडकास्ट नेटवर्क रहेका छन्। उनीहरूले ठूलो जनसंख्या भएका सहरहरूमा तत्काल यो सेवा सञ्चालनको तयारी थालेका छन्।

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार बिहान लाइसेन्स प्रदान गरेसँगै विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन व्यवसायिक रुपमै पछिल्लो पुस्ताको प्रविधिमा प्रवेश गरेको हो।

ग्लोबल टाइम्सका अनुसार चीनले छिटै द्रुत इन्टरनेटसहितको यो मोबाइल प्रविधिका लागि ३० लाख फाइभ जी बेस स्टेसन निर्माण गर्नेछ। आगामी पाँच वर्षभित्र चीनले ६० लाख बेस स्टेसन निर्माण गरिसक्ने सरकारी अधिकारीहरुले जनाएका छन्।

बेइजिङका व्यापार विशेषज्ञ तथा सीसीआइडीका परामर्शदाता ली झेन भन्छन्, ‘लाइसेन्स प्रदानपछि अब चीन फाइभ जी नेटवर्क स्थापना गर्न पूर्ण रुपमा तयार भएको छ। योसँगै चीनको फाइभ जी युग सुरू भएको छ।’

चीन, दक्षिण कोरिया र अमेरिका फाइभ जी प्रविधिका बलिया खेलाडी हुन्। टेलिकम तथा प्रविधि विकास गर्ने हुवावे फाइभ जी प्रविधि विकास र व्यापार गर्ने विश्वकै सशक्त कम्पनी हो। यो कम्पनीले चीनमा फाइभ जी प्रविधिका लागि सबै तयारी पूरा  भएको बताएको छ।

गतवर्षको अप्रिलदेखि हुवावेले चीनको ४० भन्दाबढी शहरहरुमा फाइभ जी नेटवर्कको परीक्षण गरिरहेको थियो। टेलिकम प्रविधिमा अन्तर्राष्ट्रिय रुपमै नाम कमाएको हुवावेले चीनभित्रका सर्भिस प्रदायकहरुसँग काम गर्नेछ।

कोरिया सन् २०१९ को मार्चदेखि नै फाइभ जी प्रविधिमा गएको थियो। अमेरिकाका एटीएन्टी, भेरिजोनसहितका सेवा प्रदायकहरुले निश्चित सहर केन्द्रित भएर सेवा थालेका छन्।

नयाँ प्रविधि अपनाउँदा फोर जीलाई कुनै अवरोध नपर्ने गरी विस्तार गर्ने चिनियाँ अधिकारीहरुले जनाएका छन्। सन् २०२० देखि २०२५ सम्म फाइभ जी विश्वभर फैलिने अनुमान छ।

फाइभ जी प्रविधिको ठूलो व्यापारमा चीन र अमेरिकी कम्पनीबीच टक्कर छ। अमेरिकाले चीनको हुवावेलाई कालो सूचीमा राखेको छ। चिनियाँ कम्पनीहरुले वेलायत, दक्षिण कोरियाजस्ता मुलुकको व्यावसायिक फाइभ जी प्रविधिको विकासमा सहयोग गरिरहेका छन्।