धनगढीको प्लटिङ्ग सम्बन्धी कार्यविधि खारेज गराउने कार्यपालिका सदस्यहरुको निर्णय

धनगढीको प्लटिङ्ग सम्बन्धी कार्यविधि खारेज गराउने कार्यपालिका सदस्यहरुको निर्णय

धनगढी । धनगढी उपमहानगरपालिकाका कार्यपालिका सदस्यहरुले जग्गा प्लटिङ्ग सम्बन्धी कार्यविधि खारेज गराउने निर्णय गरेका छन् ।

आज कार्यपालिका ज्येष्ठ सदस्य मानबहादुर विष्टको अध्यक्षतामा बसेको बैठकले नगर प्रमुख गोपाल हमालको एकल निर्णयबाट राजपत्रमा प्रकाशित सो कार्यविधि खारेजी गराउने निर्णय गरेका हुन् ।

‘धनगढी उपमहानगरपालिकाको २९ औं कार्यपालिका बैठकमा छलफलका लागि प्रवेश भएको कार्यविधि पारित नहुँदै नगर प्रमुख हमालको एकल निर्णयमा राजपत्रमा प्रकाशित भयो’ निर्णयमा भनिएको छ ‘उक्त कार्यविधि सम्बन्धमा नगर कार्यपालिकाको सदस्यज्यूको पूर्ण असन्तुष्टी रहेको उक्त कार्यविधि खारेज गराउने सर्वसम्मत निर्णय गरियो ।’

उपमहानगरपालिकाले आकस्मिक रुपमा ल्याएको कार्यविधिले व्यक्ति तथा जग्गा व्यवसायीहरुले समेत विरोध जनाएका छन् ।

धनगढी नगर प्रमुख गोपाल हमालले जग्गा प्लटिङ्ग सम्बन्धि बनेको ऐन व्यवसायिक परियोजनका लागि मात्र बनेको बताउँदै आएका छन् ।

सो ऐनमा भनिएको छ –‘जग्गा प्लटिङ्ग गर्ने सम्बन्धित व्यक्ति वा संस्थाले धनगढी उपमहानगरपालिकाको शहरी योजना तथा भवन निर्माण मापदण्ड २०८० र बस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धि आधारभुत मापदण्ड २०७२ का व्यवस्था र प्रावधानहरु पूरा गरी प्राविधिकबाट प्लटिङ्ग नक्सा तयार गरी तोकिएको दस्तुर बुझाई पेश गर्नुपर्ने छ ।’

उपमहानगरपालिकाले ल्याएको सो कार्यविधिमा अब नयाँ प्लटिङ गर्दा सडकको चौडाइ कम्तिमा १० मिटर हुनुपर्ने व्यवस्था गरिएको छ ।