त्यो जाहेरी जो कैलाली प्रहरी बमले कार्यालयमै थन्क्यायो

त्यो जाहेरी जो कैलाली प्रहरी बमले कार्यालयमै थन्क्यायो

धनगढी । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ३ चिसापानी बजारकी नुरजहाँ हलवाई गत असोजमा स्थानीयबाट कुटपिट भइन् । गत असोज ४ गते जग्गा विवादको विषयमा स्थानीयबाट कुटपिट भएपछि असोज ९ गते उनले कैलाली जिल्ला अदालतमा कुटपिट गर्ने व्यक्तिहरुबिरुद्ध जाहेरी दर्ता गराएकी थिइन् । तर, उनको सो जाहेरी अहिलेसम्म प्रहरीले थन्क्याएर राखेको छ ।

असोज ४ गते स्थानीय तपेन्द्र शाही, मनकुमारी शाही, शान्ती शाही, पदमा शाही, लोक बहादुर थापा र धना देवि थापाले नरजहा र उनकी छोरी रेश्मामाथि कुटपिट गरेका थिए । असोज ९ गते कैलालीमा जाहेरी दर्ता गराएपनि प्रहरीले कुनै प्रक्रिया अघि नबढाएको पीडित रेश्माले बताइन् ।

‘विपक्षीहरुले यसअघि पनि पटक–पटक मेरो जग्गाको थिचो मिचो गर्ने, म तथा मेरो छोरी समेतलाई प्रयोग गरि कुटपिट लछारपछार गता गाली बेइज्जती समेत गरी बस्नै नसक्ने अवस्था सृजना गरेकाले निजहरु उपर लम्की नगरपालिकाको कार्यालयको न्यायिक समिति तथा इलाका प्रशासन कार्यालय उजुर बाजुर गर्दा समेत निकायले निजहरुप्रति कुनै कारबाही नगरी मिलापत्र गराउने गरेको’ जाहेरीमा उल्लेख छ ।

उनले मुलुकी अपराध संधिता २०७४ को दफा ११८ को सार्वजनिक हित विरुद्धको कसुरमा जाहेरी दर्ता गराएको बताइन् । उनले भनिन –‘प्रहरीले जाहेरी लियो तर, दर्ता नभएको भन्दै फिर्ता पठाएको छ ।’ प्रहरीले कुटपिट हुँदा घाँउ मुचुल्काको फाराम दिएपनि विवरण नभरेको बताइन् । उनले भनिन –‘पीडकहरुले उपचार खर्च व्यहोर्ने सर्त गरेपनि अहिलेसम्म नदिएको र कानुनी उपचारमा जाँदा प्रहरीलेनै असहयोग गरिरहेको छ ।’

उनले भनिन –‘अहिले मुद्धा फाँटमा उपेन्द्र बम छन् । उनले सो मुद्दा त्यहाँ दर्ता नभएको भन्दै फिर्ता पठायो । अब अदालती प्रक्रियामा जाने तयारी गरेकी छु ।’

उनले प्रहरीले उल्टै छोरी र आमा दुबैलाई थुनामा राखेको बताइन् । उनले भनिन –‘प्रहरीले असहयोग गर्ने देखेपछि प्रहरी कार्यालयमा भिडियो बनाउँदै थिए । प्रहरीले भिडियो बनाएको भन्दै एक घण्टा थुनामा राखेको थियो । अहिले पनि मुद्दा अघि नबढाएपछि कुराकानी गर्न जाँदा मुद्दा फाँटले धम्की दिएर फर्काइरहेको छ ।’

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता कुलदिप चन्दले प्रहरीको कामनै जाहेरी दर्ता र अनुसन्धान गर्ने रहेको बताए । उनले भने –‘जाहेरी दर्ता भएपछि अनुसन्धान अघि बढ्छ । दर्ता नै नभएको भए त कुनै प्रक्रिया अघि बढ्दैन् ।’

उनले घटना पुरानो भएकाले के भइरहेको छ भन्नेबारेमा आफु अपडेट नरहेको बताए ।