जग्गा नापी सुचारुको माग गर्दै प्रदर्शन

जग्गा नापी सुचारुको माग गर्दै प्रदर्शन

गोदावरी । कैलालीको गोदावरी नगरपालिकामा रोकिएको जग्गा नापीको काम सुचारु गर्न माग गर्दै प्रदर्शन गरिएको छ । विगत छ महिनादेखि जग्गा नापीको काम रोकिएको भन्दै स्थानीय बासिन्दाले मंगलबार नगरपालिका घेराउ गर्दै विरोध प्रदर्शन गरेका हुन् । 

लामो समयसम्म जग्गा नापीको काम नसकिँदा स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन् । रोकिएको जग्गा नापीको काम सुचारु गर्ने पटकपटक नगरपालिका कार्यालय धाएका उहाँहरूले विरोधस्वरुप सोमबारदेखि गोदावरी नगरपालिका घेराउ गर्न थालेका हुन् । वडामा आधा परिवारको जग्गा नापी गरेर त्यसपछि कर्मचारी बेपत्ता भएको उनीहरूको गुनासो छ । 

विरोध प्रदर्शनमा रहेका स्थानीय जीतराज जोशीले आधा वडा मात्रै नापेर छोडेपछि विरोधमा उत्रिनुपरेको बताए । हाम्रो वडामा मेयरले नै उद्घाटन गरेको र त्यसपछि आधा जग्गा नापेर अरू छोडिएको भन्दै उनले भने, ‘छ महिनाअघि नापी टोली वडाबाट गएको थियो, अहिलेसम्म काममा फर्केको छैन ।’

यस्तै, अर्का स्थानीय हरि फुलाराले नगरपालिकाले जग्गा नापीको काम किन रोकिएको हो भन्ने सूचना पनि नदिएको बताए। नगरपालिकाले अझै हाम्रो माग सुनुवाइ नगरे जनता शान्त नबस्ने भन्दै उनले अबको १५ दिनभित्र जग्गा नापीको काम सुरु नभए आन्दोलन झन् चर्किने चेतावनी दिए। 

गोदावरी नगरपालिका उपमेयर शारदा रोकायाले नगरपालिकामा धेरै जग्गा नापीको काम बाँकी भएकाले टेन्डरमार्फत काम सुचारु गर्ने तयारी भइरहेको बताइन् । यसअघि नगरपालिकाबाट कर्मचारी परिचालन गरेर जग्गा नापीको काम गरेको र कर्मचारीले काममा ढिलाइ गर्दा अब टेन्डरमार्फत नापीको काम अगाडी बढाउने तयारी भइरहेको उनको भनाइ छ । 

गोदावरीमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बोसवासीलाई जग्गा उपलब्ध गराउन २०७७ पुस २ गतेदेखि काम सुरु भएको थियो । अहिलेसम्म २० हजार १६६ घरधुरीको लागत सङ्कलन गरिएको छ । जसमा १७ हजार ५५४ अव्यवस्थित बोसवासी रहेका छन् भने २ हजार ६१२ परिवार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी छन् । 

व्यक्तिगत जग्गा नापी गर्ने काम रोकिएको भएपनि फिल्डमा कन्ट्रोल पाइन्ट राख्ने, नापी भएका परिवारको लालपुर्जा वितरण लागि जग्गा मूल्याङ्कन गर्ने, आवश्यक कागजातका लागि सूचना प्रकाशन गर्ने काम भइरहेको नगरपालिकाले जनाइएको छ ।