घाइते गर्भवतीको हेलिकप्टरबाट उद्धार

घाइते गर्भवतीको हेलिकप्टरबाट उद्धार

अछाम ।  घाइते अवस्थामा फेला परेकी पाँच महिने एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ।  घाइते अवस्थामा भेटिएकी ढकारी गाउँपालिका वडा नम्बर ७ ढुंगाचाल्ना निवासी ३५ वर्षीया कल्धरी बुढाको थप उपचारका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हेलिकप्टरबाट उद्धार गरिएको हो।   

घाइते बुढाको स्थानीयस्तरमा उपचार सम्भव नभएपछि हेलिकप्टरबाट थप उपचारका लागि सुर्खेत लगिएको वडा अध्यक्ष रामबहादुर बुढाले जानकारी दिए।  अचेत अवस्थामा भेटिएकी बुढालाई सुर्खेतस्थित प्रादेशिक अस्पतालमा पुर्याएर उपचार भइरहेको साथमा रहेका ससुरा उमेश थापाले जानकारी दिए।  घाँस काट्न भनेर घरबाट निस्किेकी भनिएकी बुढा घरभन्दा करिब एक किलोमिटर टाढाको जंगलमा अचेत अवस्थामा फेला परेको ससुरा उमेशको भनाइ छ।   

सोमबार दिउँसो घरबाट बाख्रा गोठालासँग वनतिर गएकी बुढालाई खोजी गर्ने क्रममा घाइते अवस्थामा मंगलबार बिहान आफन्तले फेला पारेका थिए। ‘हिजो सोमबार दिउँसो करिब १ बजेतिर बाख्रा गोठालासँग जान्छु भनेर गएकी बुढा साँझ घर नफर्केपछि स्थानीयले खोजी गरे पनि फेला नपरेको र आज बिहान घाइते फेला परेकी हुन्’, उनले भने ।