हिउँदे अधिवेशनको छैन सुरसार

हिउँदे अधिवेशनको छैन सुरसार

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन बस्ने सम्बन्धमा अझै सुरसार हुन सकेको छैन । प्रदेश सभाको आठौँ एवं बर्खे अधिवेशन अन्त्य भएको अढाई महिना हुन लागे पनि अर्को अधिवेशनको तयारी छैन । प्रदेश सभामा सरकारले नयाँ विधेयक पनि दर्ता नगराएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार प्रदेश सभा सञ्चालनका लागि अहिलेसम्म बिजनेस पेस भएको छैन ।

सरकारबाट हालसम्म नयाँ विधेयक दर्ता हुन नआएको भन्दै उनले बैठक पनि निश्चित भई नसकेको जानकारी दिए। ‘हुन त अहिले नै अधिवेशन सुरु गराइहाल्ने बाध्यता सरकारलाई छैन । किनभने एउटा अधिवेशन सकिएको पाँच महिनासम्म बैठक नबस्दा पनि हुन्छ,’ उनले भने ।

एउटा अधिवेशन सकिएको छ महिनाभित्रै भने अर्को अधिवेशन सुरु गरिहाल्नुपर्ने कानुनी प्रावधान रहेको छ । कानुन निर्माणको सवालमा सरकार सुस्त देखिएकाले प्रदेश सभालाई व्यस्त बनाउनतिर सरकारले ध्यान दिनुपर्ने सरोकारवालाको सुझाव छ । 

एकवर्षे कार्यकाल व्यतीत गरिसकेको प्रदेश सरकारले नयाँ कानुन बनाउन सकेको छैन । सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री पूर्णा जोशीले बाहिरबाट हेर्दा कानुन निर्माणको सवालमा सुदूरपश्चिम सरकार सुस्त जस्तो देखिएको बताइन। यसअघिको प्रदेश सरकारले सङ्घीयताको जग बसाल्ने क्रममा विभिन्न चुनौती भए पनि एक वर्षमा धेरै कानुन बनाएको उनले स्मरण गरे ।  प्रदेश सरकारले २०७५ सालमा १६ वटा कानुन निर्माण गरेको थियो । 

निवर्तमान सभामुख अर्जुनबहादुर थापाले पनि वर्तमान प्रदेश सरकारप्रति लक्षित गर्दै पहिलेको र अहिलेको प्रदेश सरकारले एक वर्षमा गरेको कामको तुलनात्मक समीक्षा गर्नुपर्ने बेला आएको बताए। 

सत्तारूढ दल नेपाली कांग्रेसका प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले पुसको अन्तिमतिरबाट प्रदेश सभाको हिउँदे अधिवेशन सञ्चालन गर्ने कुरामा छलफल भइरहेको बताए ।