त्रिनगर मावि धनगढीको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा पूर्व क्याम्पस प्रमुख चन्द

त्रिनगर मावि धनगढीको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा पूर्व क्याम्पस प्रमुख चन्द

धनगढी । कैलाली जिल्लाको अग्रणी शैक्षिक संस्था त्रिनगर माध्यमिक विद्यालय धनगढीको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा पूर्व क्याम्पस प्रमुख सुरेन्द्र चन्दलाई चयन गरिएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा अवस्थित त्रिनगर मा.वि.को आज बसेको विद्यालय व्यवस्थापन समितिको पूर्ण बैठकले  व्यवस्थापन समितिको अध्यक्ष पदमा कैलाली बहुमुखी क्याम्पसबाट सेवा निवृत्त हुनु भएका क्याम्पस प्रमुख चन्दलाई छनौट गरेको हो ।

धनगढी उपमहानगरपालिकाले नगर शिक्षा नियमावली अनुसार पत्र पठाई कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख सुरेन्द्र चन्द र महिलामा विमला कुमारी देवल (जैरु) लाई सदस्यमा मनोनीत गरेको जानकारी विद्यालयलाई गराएपछि,आज पौष २ गतेका दिन विद्यालय व्यवस्थापन समितिको बैठक ज्येष्ठ सदस्य लक्ष्मण पार्कीको अध्यक्षता तथा वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष मुडभरी विशिष्ट उपस्थितिमा बसेको बैठकले पूर्व क्याम्पस प्रमुख चन्दलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको हो ।

धनगढी उपमहानगरपालिकाबाट मनोनीत गरिएका २ जना सदस्य मध्येका बौद्धिक व्यक्तित्व एवम् शिक्षाविद्  चन्दलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा सर्वसम्मत रूपमा छनौट गरिएको विद्यालयका प्रधानाध्यापक भूपाल सिंह खड्काले जानकारी दिए ।

 धनगढीको मुख्य बजार एल एन चोकमा रहेको त्रिनगर माद्यामिक विद्यालयमा हाल कक्षा १ देखि १२ सम्म अध्यापन हुने गरेको छ । यस विद्यालयमा हाल २ हजार ५ सय बढी विद्यार्थी अध्ययन गर्ने गरेका छन् ।