जिप्रका कैलालीका प्रहरी बमले गैरकानुनी रुपमा युवक थुनेपछि...

जिप्रका कैलालीका प्रहरी बमले गैरकानुनी रुपमा युवक थुनेपछि...

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले गैर कानुनी रुपमा एक युवकलाई पक्राउ गरि थुनामा राखेको छ । दिउँसो २ बजे छलफलका लागि भन्दै कार्यालय लगिएका धनगढी उपमहानगरपालिका वडा नम्बर २ बस्ने प्रेम खत्रीलाई थुनामा राखेको हो ।

दाजु सुरेन्द्र खत्रीले लेनदेनका विषयमा यसअघि सहमति गराएको भएपनि आइतबार प्रहरीले अनाधकृत रुपमा नियन्त्रणमा लिएको बताए । खत्री र सुमी बमबिच पैसा लेनदेनको घटनामा प्रहरीले प्रेमलाई बेलाबेला समस्या दिइरहेको उनको भनाई छ । 

‘पैसाको लेनदेन थियो । एकचोटी जिप्रकामा कागजपत्र बनाइसकिएको छ । अब सम्बन्धित व्यक्तिले हराएपछि फेरी कागजपत्र बनाई पाउ भन्दै भाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ’ उनले भने –‘सुमीसंग न चेक छ, न त कागजपत्र छ । पैसा लेनदेन छ भन्दैमा त्यसै नातागोता कोट्याएर दुःख दिनु त भएन् ।’

खत्रीलाई दिउँसो जिप्रका प्रहरी उपेन्द्र बमले पक्राउ गरेको भएपनि प्रहरी प्रमुख तथा प्रवक्तालाई जानकारी दिइएन् । उपेन्द्र र सुमीबिच नाता पर्ने भएकाले खत्रीलाई जतिखेर पनि सोधपुछका लागि बोलाउने गरेको उनका दाजु सुरेन्द्रले बताए ।

धनगढी खबरले शुरुमा प्रहरी प्रवक्ता कुलदिप चन्दलाई यसबारे सोधपुछ गर्दा उनको फोनमा इन्स्पेटकर सन्तोष बस्यालले उठाए । बस्यालले प्रेम खत्री नामक कुनै पनि व्यक्तिलाई प्रहरीले नियन्त्रणमा नलिएको बताए । उनले भने –‘यसबारे हामीलाई जानकारी आएको छैन् । एकछिन सञ्चारसंग सोधपुछ गरेर तपाईलाई जानकारी गराउँछु ।’

दोस्रो पटक सम्पर्क गर्दा उनले खत्रीलाई भर्खर सोधपुछका लागि कार्यालय बोलाइएको उनको भनाई छ । उनले भने –‘पैसा लेनदेनको विषय रहेछ । पक्राउ गरेको होइन् । अहिले छलफल चलिरहेको छ ।’ छलफलपछि साँझ अन्दाजी साढे छ बजे उनलाई प्रहरीले छोडेको जनाइएको छ ।

घटना के हो ?

पीडक भनिएको प्रेम खत्री ढुकुटी खेलाउनमा संलग्न भए । समुहमा प्रत्येक महिनाको लाभांस आवश्यकता अनुसार वितरण गरे । तर, आफु घाटामा गएपछि उनले बढी रकम लिएकाहरुलाई रकम तिर्न सर्त राखे । सहमति पनि भयो । तर, ती तिर्नुपर्ने व्यक्तिले उल्टै उनीमाथि दोष दिँदै प्रहरीसमक्ष उजुरी हाले । उनी भन्छन् –‘न मैले कसैबाट रकम लिएको छु । न दिनुपर्नेनै छ । तर, प्रहरीले मलाई दुख दिइरहेको छ ।’ 

उनले आवश्यक प्रमाण देखाउँदा समेत प्रहरीले दुख दिइरहेको बताए । उनले भने –‘प्रहरीले एकलौटी गरेको छ । प्रमाणका आधारमा आवश्यक कारबाही गरोस् तर, मेरो कुरा सुनिरहेको छैन् ।’

उनका अनुसार बमले प्रहरी प्रमुख र प्रहरी प्रवक्तालाई लेनदेनको कुरा भएकोले छलफल गरिरहेको भन्दै भ्रममा राखेका छन् ।

सुमी बमले आफुले चार वर्ष अघि खत्रीलाई रकम ऋण दिएको तर, पटक–पटक माग्दा समेत नदिएपछि प्रहरीको सहायता लिएको बताइन् । उनका अनुसार प्रहरी बम र आफुबिच कुनै नाताबाद नरहेको बताइन् ।